समाचार

तापक्रम घटेसँगै चिसो बढ्यो

By खबरहब

December 21, 2021

काठमाडौँ – आज काठमाडौँ उपत्यकासहित देशभरको मौसम आंशिक बदली हुने भएको छ ।

न्यून चापीय प्रणालीको प्रभावका कारण केही उच्च पहाडी र हिमाली भूभागमा हिमपात सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिएका छन् । उनका अनुसार काठमाडौँ उपत्यकाको मौसम सामान्यता सफा हुनेछ ।

आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ६ दशमलव २ डिग्री रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तापक्रम घटेसँगै चिसो बढ्दै गएकाले सतर्क रहन मौसमविद्हरूले आग्रह गरेका छन् । भोलि पहाडी भेगमा आंशिक बदली रही प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्ने महाशाखाको आङ्कलन छ।