खेलकुद

साफ उपबिजेता खेलाडीहरु पुरस्कृत

By खबरहब

December 21, 2021

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी तथा प्रशिक्षक पुरस्कृत भएका छन । १३ औं संस्करणको साफ च्याम्पियनसिप प्रतियोगितामा उपविजेता नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी तथा प्रशिक्षक पुरस्कृत भएका हुन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले साफ उपबिजेता खेलाडीहरुलाई जनही ५ लाख नगदसहित सम्मान गरेका छन् ।

सरकारले साफमा ऐतिहासिक नतिजा निकाल्न सफल राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख तथा प्रशिक्षकलाई ३ लाख रुपौयाँ पुरस्कार दिने घोषणा गरेको थियो । सोही घोषणा कार्यान्वयनका लागि युवातथा खेलकुद मन्त्रालयले मंगलबार सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको थियो ।

सम्मानित हुने खेलाडीहरुमारा ष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, गौतम श्रेष्ठ, सुजल श्रेष्ठ, तेज तामाङ, रोहित चन्द, पुजन उपरकोटी, सुमन लामा, नवयुग श्रेष्ठ, सुरज ठकुरी, नितिन थापा, बिशाल राई, सुनिल बल, आशिष लामा, सन्तोष तामाङ, आयुष घलान, विशाल श्रेष्ठ, मनिष डाँगी र कमल थापा रहेका छन्।

त्यसैगरी राष्ट्रिय टिमका मुख्यप्रशिक्षक अब्दुल्लाह अल मुताइरी र प्रशिक्षक द्वय किरण श्रेष्ठ र बिकाश मल्ललाई समेत जनही ३ लाख नगद सहित सम्मानपत्र उपलब्ध गराइएको छ । प्रतियोगितामा सहभागी अफिसियललाई समेत प्रमाणपत्रले सम्मान गरिएको छ ।

खेलाडीहरुलाई पुरस्कृत गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए। खेलाडीहरुले खेलको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले खुसी समेत ब्यक्त गरे ।

खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले खेलाडीहरुको हौसला बढाउन सरकार तत्पर रहेको बताए ।