दोहा- बिदामा गएका बिदेशी नागरिकले समयसीमा अर्थात् भिसाको म्याद नसकिँदै ३ वर्षसम्म प्रतिबन्ध लगाउने साउदी अरबले नयाँ नियम बनाएको छ ।
साउदी अरबको राहदानी महानिर्देशनालय (जवाजात) अफिसले बिदामा गएका बिदेशी नागरिकले भिसाको म्यादभित्रै फेरि साउदी नफर्किए ३ वर्षसम्म पुन: साउदी अरब प्रवेश गर्न नपाउने जनाएको छ ।
साउदी अरबबाट बिदामा गएकाहरुले भिसाको अवधि बाँकी हुँदै नफर्केमा तीन वर्षसम्म फर्किन नपाउने नियम लागु गरेको जवाजातलाई उद्धृत गर्दै साउदी गजेटले जनाएको छ ।
तर रोजगारदाताले नयाँ भिसा उपलव्ध गराएमा भने त्यस्ता विदेशी नागरिकले सहजै प्रवेस पाउने छन् । घरेलु श्रमिकका रुपमा काम गर्न गएकाहरु ६ महिना भित्रमा साउदी अरब नफर्केमा उनीहरुको आवासीय अनुमति तथा भिसा स्वत: खारेज हुने जनाइएको छ ।
यसका साथै त्यहाँको गृह मन्त्रालयले आप्रबासन तथा रोजगारका नियम उलंघन गर्नेलाई संरक्षण, सहयोग नदिन र कोही कसैले नियम उलंघन गरी बसिरहेको देखेमा सरकारलाई खबर गर्न अनुरोध गरेको छ ।
गत महिना मात्र साउदीमा कानुन उल्लंघन गर्ने १६ हजार आप्रवासी कामदार पक्राउ परेका छन् । त्यहाँको आवासीय, श्रम र सीमा सुरक्षा सम्बन्धी कानुन उल्लंघन गर्नेहरुलाई पक्राउ गरी देश निकाला (डिपोर्ट) गरिरहेको जनाईएको छ ।