सत्तारूढ दल नेपाली कांग्रेसको चौधौँ महाधिवेशनको मिति आउन दुई महिना बाँकी रहँदासम्म कुनै पनि केन्द्रीय नेताले सभापतिको उम्मेदवारी घोषणा गरेका छैनन् । धेरैले ‘मपाईं’ भनेका छन् तर कसैले पनि ‘तपाईं’ नै हो भनेका छैनन् ।
वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वउपसभापतिहरू गोपालमान श्रेष्ठ र प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरू डा. शेखर कोइराला, सुजाता कोइराला, कल्याण गुरुङ लगायत करिब एक दर्जनले आफूलाई सभापति पदको दाबेदार भनेका छन् तर उपसभापति विमलेन्द्र निधिबाहेक कसैले पनि औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छैनन् ।
यीमध्ये कतिपय त आफ्नो प्रचारप्रसारमा पनि हिँडेका छन् । दाबेदारमध्ये कसैले पनि अहिलेसम्म केन्द्रीय सदस्यको सामूहिक साथ पाउन सकेका छैनन् ।
विगतका महाधिवेशनमा छ महिनाअघि नै मेरो सभापति फलानो हो भनेर केन्द्रीय सदस्यहरू खुल्ने गर्थे । बाहौँ महाधिवेशनमा दुई महिनाअघि नै शेरबहादुर देउवाले विमलेन्द्र निधिलाई देब्रेतिर र गोपालमान श्रेष्ठलाई दाहिनेतिर राखेर करिब तीन दर्जन केन्द्रीय सदस्यहरूको उपस्थितिमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका थिए ।
सुशील कोइरालाले पनि प्रकाशमान सिंहलाई दायाँ र रामचन्द्र पौडेललाई बायाँ राखेर बहुसंख्यक केन्द्रीय सदस्यहरूका बीच आफ्नो उम्मेदवारी सार्वजनिक गरेका थिए ।
तेह्रौँ महाधिवेशनमा पनि दुई महिनाअघि नै देउवाले दायाँतर्फ अर्जुननरसिंह केसी र बायाँतर्फ विमलेन्द्र निधिलाई राखेर दर्जनौँ केन्द्रीय सदस्यहरूका साथमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका थिए । पौडेलले केही ढिलो गरी दायाँतर्फ डा. शशांक र बायाँतर्फ प्रकाशमान सिंहलाई राखेर धेरै केन्द्रीय सदस्यहरूबीच आफ्नो उम्मेदवारी सार्वजनिक गरेका थिए ।
आसन्न चौधौँ महाधिवेशनमा सभापति पदमा म उम्मेदवार हुन्छ भनेर धेरैले भनेका छन् तर निधिबाहेक अरू कसैले पनि म उम्मेदवार भएँ भनेर औपचारिक सभा गरेर घोषणा गर्ने आँट गरेका छैनन् । निधिले औपचारिक रूपमा आयोजना गरेको उम्मेदवारी घोषणासभामा केन्द्रीय सदस्यहरू त परको कुरा जिल्ला सभापतिहरू पनि एक दर्जनभन्दा बढी थिएनन् ।
नेताहरू उम्मेदवारी घोषणाको सवालमा ‘पर्ख र हेर’ को अवस्थामा छन् । देउवालाई टक्कर दिनसक्ने ठानिएका इतर पक्षका सबै नेता सहमतिका नाममा रस्साकस्सीमा छन् ।
सभापति देउवाको पक्षमा अहिलेसम्म सहमहामन्त्री डा. प्रकाशशरण महतबाहेक माथिल्लो स्तरका अरू नेताहरू खुलेर बोलेका छैनन् । निधि र गोपालमान श्रेष्ठले पनि म उम्मेदवार हुन्छु भनेका छन् । प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । यसमा देउवाको स्वीकृति छैन भन्ने समाचार आएको छ र शर्माले खण्डन पनि गरेका छैनन् ।
महामन्त्री पूर्णबहादुर खड्का पनि ‘पर्ख र हेर’ मै देखिएका छन् । तीन महिनाअघि सभापति देउवाले आफ्नो उम्मेदवारीबारे आफू निकटका नेताहरूलाई बोलाएर छलफल गरेका थिए, आफू उम्मेदवार हुने जानकारी गराएका थिए । त्यस क्रममा उपसभापति निधि र पूर्वउपसभापति श्रेष्ठ आआफूले ‘तपाईं होइन, म हो’ भनेर मुख खोलेका थिए । महामन्त्री खड्का मौन रहेका थिए ।
कांग्रेस फर्किएका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले ‘मेरा लागि तपाईं बाहेक अर्को विकल्प छैन’ भनेर देउवालाई समर्थन जनाए तर पछिल्लो समय गच्छदार समेत देउवाको पक्षमा खुलेका छैनन् ।
बाहौँ र तेह्रौँ महाधिवेशनमा भन्दा पनि कमजोर हैसियतमा देउवाले उम्मेदवारी घोषणा नगर्ने धेरैको अनुमान छ । चौधौँ महाधिवेशनमा देउवाका सारथिहरू को को हुन्छन् र उनले ककसलाई समेटेर टिम बनाउँछन् भन्ने कुरा प्रष्ट भइसकेको छैन ।
तेह्रौँ महाधिवेशनमा देब्रेतिर बीपीपुत्र शशांक र दाहिनेतर्फ गणेशमानपुत्र प्रकाशमानलाई राखेर तामझामका साथ उम्मेदवारी घोषणा गरेका पौडेलले सुरुवाती चरणमै बलियो सन्देश दिएका थिए । यतिबेला शशांक र प्रकाशमान दुवैले आफैँ उम्मेदवारी दाबी गरेका छन् । कोइराला परिवारकै अर्का हस्ती डा. शेखर त आफ्नो प्रचार प्रसारमा धेरै अघि बढिसकेका छन् । गत महाधिवेशनको भन्दा पनि कमजोर अवस्थामा उम्मेदवारी घोषणा गर्ने हिम्मत पौडेलले पनि जुटाउन सकेका छैनन् ।
कांग्रेसमा हालसम्म निधिले मात्रै सभापति पदका लागि औपचारिकरूपमा उम्मेदवारी घोषणा गरेका छन् । देउवाले घोषणा गरेका छैनन् तर पछि हट्दैनन् भन्ने अनुमान छ । उनलाई टक्कर दिनसक्ने ठानिएका बाँकी सबै सहमतिका नाममा रस्साकस्सीमा छन् ।
सर्सरर्ति हेर्दा निधिले देउवालाई चुनौती दिएको अवस्थामा पौडेलले आफ्नो टिम मिलाउन सके भने उनले बाजी मार्ने सम्भावना देखिन्छ । इतर पक्षमा पौडेलबाहेक अरूको नेतृत्वमा सबै नेता अटाउने सम्भावना देखिन्न । यति सजिलो परिस्थितिमा पनि पौडेलले आफ्नो टिम व्यवस्थापन गर्न सकेका छैनन् । एक जना पनि केन्द्रीय सदस्यलाई पनि आफ्नो पक्षमा खुलाउन सकेका छैनन् ।
संस्थापन पक्षमा निधिले देउवालाई चुनौती दिनु अस्वाभाविक होइन । देउवा र निधिमा उमेरबाहेक राजनीतिक योगदानमा खासै ठूलो अन्तर छैन । देउवाको प्रधानमन्त्रित्व त सधैँ विवादमा परेको छ ।
इतर पक्षमा भने पौडेललाई शेखर, शशांक, प्रकाशमान, सुजाता लगायतका नेताहरूले चुनौती दिनु त्यति स्वाभाविक कदम होइन । पौडेल र इतरपक्षका अन्य दाबेदारहरूको राजनीतिक योगदान तथा उचाइमा निकै ठूलो अन्तर छ ।
देउवाको विकल्पमा निधिको दाबी स्वाभाविक मानिएको छ, देउवा यसअघि चार पटक सभापति पदमा उम्मेदवार बनिसके, पार्टी विभाजन समेतको समय हेर्दा दुई कार्यकाल सभापति भइसके । इतर पक्षभित्र भने पौडेलले सभापति बन्ने मौका पाएका छैनन् । उपसभापति, उपप्रधानमन्त्री तथा महामन्त्री त अहिले इतरपक्षमा रहेका धेरैले पाइसकेका छन् ।
पौडेलले आफ्नो ६५ वर्ष लामो सक्रिय राजनीतिक जीवनमा जे जे पद प्राप्त गरे, सभामुखबाहेक ती सबै पद ३५ वर्षको सक्रिय राजनीतिमा प्रकाशमान सिंहले पाइसकेका छन् ।
सभापति देउवाका लागि अहिले देखिएको सकारात्मक संकेत एउटा मात्रै छ । त्यो हो– इतर पक्षका सबै आकांक्षीहरूले मैलेबाहेक अर्काले देउवालाई हराउन सक्दैन भन्ने दाबी गरिरहनु ।
इतर पक्षका दाबेदारमध्ये देउवालाई टक्कर दिनुसक्ने सबैभन्दा बलियो को हो भन्ने प्रश्न निकै पेचिलो बनेको छ । यसको छिनोफानो कसले गर्ने र मपदण्ड के हो भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ ।
गत महाधिवेशनको परिणाम हेर्ने हो भने सभापतिका उम्मेदवार पौडेलले भन्दा महामन्त्रीका उम्मेदवार डा. कोइरालाले दुई सय मत कम पाएका थिए । पौडेल र शशांकमध्ये को बलियो भन्ने प्रश्नमा यो भन्दा अर्को तथ्य अहिलेसम्म आएको छैन । जे बोल्छ तथ्यले नै बोल्छ ।
अब रह्यो पौडेल बलियो कि प्रकाशमान भन्ने प्रश्न । यो पनि विगतका चुनावले भन्छ । पौडेल संसदीय दलमा देउवासँग २०६४ र २०७२ सालमा गरी दुई पटक भिडेका थिए । पहिलो पटक फराकिलै मतान्तरले पौडेलले देउवालाई परास्त गरे । दोस्रो पटक झिनो मतान्तरले पौडेल देउवाबाट परास्त भए ।
गत आम निर्वाचनपछि देउवा र प्रकाशमान सिंह संसदीय दलको नेता पदमा चुनाव लडे । देउवाले ४४ र सिंहले १९ मत पाए । नेपाली कांग्रेसमा संसदीय दलको नेता निर्वाचनको इतिहासमा त्यति फराकिलो मतान्तर भएको थिए ।
जहाँसम्म डा. शखेरको सन्दर्भ छ, उनी इतर पक्षका हुन कि होइनन् भन्ने निक्र्यौल हुनै बाँकी छ । तेह्रौँ महाधिवेशनयता डा. शेखरका गतिविधि प्रत्यक्ष वा परोक्षरूपले देउवालाई बलियो बनाएका छन् । तेह्रौँ महाधिवेशनमा सिटौलाको अहिले डा. शेखरको उम्मेदवारीको स्थिति एउटै हो भन्ने अनुमान धेरैको छ । पौडेलका लागि डा. शेखरसँग सहमति गर्ने प्रयास निरर्थक हुन सक्नेछ ।
कांग्रेसका हरेक महाधिवेशनमा उमेरको सन्दर्भ पनि उठ्ने गर्छ । गिरिजाप्रसाद कोइरालाबाहेक ८० वर्ष उमेर नाघेर कोही पनि सभापति भएको छैन । संस्थापन पक्षमा निधिले देउवालाई विश्राम लिन आग्रह गर्नु र इतर पक्षमा अन्य नेताहरूले पौडेललाई त्यस्तै आग्रह गर्नु पनि अस्वाभाविक होइन ।
अर्को पाटोबाट हेर्दा पार्टी सभापति बन्नु भनेको अन्य पार्टीका नेतासँग कुस्ती प्रतियोगितामा सामेल हुन होइन, वैचारिक बहस तथा छलफलमा खरो उत्रिनका लागि हो । संस्थापन कांग्रेसमा वैचारिक बहस, तर्क, विषयवस्तुको जानकारी, वाककला, लेखन लगायतका दृष्टिले देउवाको तुलनामा निधि धेरै अगाडि छन्, तुलना हुनै सक्दैन । इतर पक्षमा पौडेलसँग कसैले पनि प्रतिस्पर्धा गर्न सक्दैन ।
कुनै विषयमा लगातार पाँच मिनेट धैर्यका साथ बलियो तर्क गर्ने क्षमता नभएको कुनै पनि नेताले नेपाली कांग्रेस जस्तो ठूलो पार्टी हाँक्न सक्दैन । कांग्रेसका केन्द्रीय तहका नेता र महाधिवेशनका मतदाताहरूले गम्भीरतापूर्वक निर्णय लिने बेला आएको छ । सभापति पदको उम्मेदवारी दाबी गर्ने नेताले आफूभित्र सभापतिमा हुनै पर्ने न्यूनमत क्षमता छ कि छैन कि छैन भनेर आत्मसमीक्षा गर्ने समय अएको छ ।