राष्ट्रसंघको महासभामा सहभागी भएपछि ब्राजिलका स्वास्थ्य मन्त्री सङ्क्रमित

By खबरहब

September 22, 2021

ब्राजिलिया- ब्राजिलका स्वास्थ्य मन्त्री मार्कोलो क्वैरोगा कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएपछि उनलाई सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

राष्ट्रपति जैर बोल्सोनारोको नेतृत्वमा ब्राजिलको टोली अमेरिकाको न्युयोर्कमा भएको राष्ट्रसंघको महासभामा सहभागी भएको हो । टोलीमा सहभागी अन्य सदस्यहरुको पनि कोरोना परीक्षण गरिएको, तर सङ्क्रमण नदेखिएको अधिकारीहरुले जनाएका छन् ।

ब्राजिल सरकारले जारी गरेको वक्तव्यका अनुसार अहिले सङ्क्रमित भएका स्वास्थ्य मन्त्री क्वैरोगाले कोरोना भाइरसविरुद्धको खोप पनि लगाएका थिए । राष्ट्रसंघको महासभामा सहभागी भएर फर्किएका मध्ये सङ्क्रमित हुनेमा उनी दोस्रो व्यक्ति भएका छन् ।

सङ्क्रमित ५५ बर्षीय स्वास्थ्यमन्त्री क्वैरोगा न्युयोर्कमै आइसोलेसनमा बसेको जनाइएको छ । तर टोलीमा सहभागी भएर पनि सङ्क्रमण पुष्टि नभएका अन्य भने ब्राजिल फर्किसकेका छन् । (रासस/एएफपी)