देश/प्रदेश

मुख्यमन्त्री आचार्यबारे आइतबार छिनोफानो हुने

By खबरहब

October 22, 2021

विराटनगर– प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन संसदमा प्रस्ताव पेस गरेका छन् । प्रदेश १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठकमा मुख्यमन्त्री आचार्यले प्रस्ताव पेस गरेका हुन् ।

संसदमा विश्वसको मत माग्न प्रस्ताव पेस गर्न रोस्ट्रममा पुगेका मुख्यमन्त्री आचार्यले केही दिनअघि गएको बाढीपहिरोबाट भएको धनजनको क्षति र प्रदेश सरकारले गरेका प्रयासकाबारेमा जानकारी गराएका थिए ।

सरकारमा रहेको दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । संसद सचिवालयमा भने गत २५ असोजमा मुख्यमन्त्री आचार्यले सूचना दर्ता गराएका थिए ।

प्रदेशसभामा विश्वसाको मत आइतबार मात्र टुंगो लाग्ने भएको छ । आइताबर बस्ने बैठकमा मतदानमार्फत टुगो लगाउने कार्य परामर्श समितिको बैठकले निष्कर्ष निकालेको थियो ।

विपक्षी गठबन्धनले शुक्रबार नै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनुपर्ने अडान राखेपछि सभामुख प्रदीपकुमार भण्डारीले कार्यपरामर्श समितिको बैठक बोलाएका थिए ।

९२ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ मत आवश्यक पर्छ । जसमा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादी पार्टीका तीन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् । राप्रपाका एक सांसद छन् ।

प्रदेश १ मा गठबन्धनबीच टुटफुट नभए आइतबार नयाँ मुख्यमन्त्री पाउने देखिएको छ । केन्द्रीय सत्तारुढ गठबन्धन दलले प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) लाई प्रदेश सरकारको चाबी बुझाउने निर्णय गरिसकेको छ । नेकपा एसले मुख्यमन्त्रीमा राजेन्द्र राईलाई अगाडि सारेको छ ।