फाइल तस्बिर

समाचार

१५ दिन भित्र गोला प्रथाबाट पेशी तोक्ने व्यवस्था गर्न बारको अल्टिमेटम !

By खबरहब

October 22, 2021

काठमाडौँ– नेपाल बार एसोसिएशनले १५ दिन भित्र गोला प्रथाबाट पेशी तोक्ने व्यवस्था गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई अल्टिमेटम दिएको छ । १५ दिन भित्र गोला प्रथाबाट पेशी तोक्ने प्रतिवद्धता नआए न्यायिक नेतृत्वप्रति बारको विश्वास नरहने बारले जनाएको छ ।

शुक्रबार बसेको बार एसोसिएशनको बैठकपछि जारी गरिएको विज्ञप्तिमा प्रधानन्यायाधीशले न्यालयका विकृति विसंगति हटाउने प्रतिवद्धता पटक पटक जनाए पनि कार्यान्वयन नगरेको उल्लेख गरिएको छ ।

सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले न्यायालयका विकृति विसंगति हटाउनेबारे प्रतिवेदन दिएको र प्रधानन्यायाधीशले सो प्रतिवेदन कार्यान्वयन गर्ने जनाए पनि दुई महिनासम्म कार्यान्वयन हुन नसक्नु दुःखद् भएको बारले जनाएको छ ।

सो प्रतिवेदनमा विकृति हटाउन प्रधानन्यायाधीशले पेशी तोक्ने नभई स्वचालित प्रणालीबाट तोक्नुपर्ने र त्यसका लागि प्रविधि तयार नहुँदासम्म गोला प्रथापाबाट पेशी तोक्नुपर्ने सुझाव दिइएको छ ।

हाल सर्वोच्चमा प्रधानन्यायाधीशले र अन्य अदालतमा प्रमुख न्यायाधीशले पेशी तोक्दै आएका छन् । यसरी पेशी तोक्दा सेटिंग हुने गरेको चर्चा चल्दै आएको छ ।

नेपाल बारले प्रतिवेदन कार्यान्वयनका विषयमा आगामी आइतबार प्रधानन्यायाधीश राणासँग छलफल गर्ने निर्णय पनि गरेको छ । सो छलफलपछि थप धारणा बनाउने बारले जनाएको छ । पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश राणाको राजीनामा मागेको थियो ।