राजनीति

एमालेमा १० बुँदेले बल्झियो विवाद

By खबरहब

October 22, 2021

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष एवं १० बुँदे कार्यान्वयन कार्यदलका संयोजक भीम रावलले स्थायी कमिटी बैठकमा फरक मत दर्ज गरेका छन् । च्यासलमा जारी स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कार्यदलबाट आएका सुझावलाई लत्याएपछि रावलले पाँच पृष्ठ लामो फरक मत दर्ज गरेका हुन् ।

‘१० बुँदे सहमति कार्यान्वयनका लागि बिहीबार कार्यदलको बैठक बसेर सुझावहरू तयार पारेको थियो । स्थायी कमिटीमा धेरै सदस्यले कार्यान्वयन गर्दै जाने भनेको तथा सौहार्दपूर्ण छलफल भए पनि अन्तिममा पार्टी अध्यक्षले निष्कर्ष सुनाउँदा भएका सबै छलफलहरू, १० बुँदे सहमति, अपानिभन्दा भिन्न र अमिल्दो किसिमले उहाँले त्यसको कार्यान्वयन नगर्ने किसिमले कुरा राख्नुभएकाले मेरो त्यसप्रति सहमति हुन सकेन । पाँच पृष्ठ लामो फरक मत दर्ज गरेको छु’, उनले भने ।

रावलले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै कार्यदलको संयोजकबाट राजीनामाको घोषणासमेत गरेका छन् । केन्द्रीय कमिटीले निर्णय गरेर अन्तरपार्टी निर्देशनबाटै जारी भएको १० बुँदे सहमति कार्यान्वयन नभएकामा असन्तुष्टि जनाउँदै रावलले राजीनामा दिएका हुन् । ‘यो मेरो व्यक्तिगत कुरा होइन । अपानिबाट जारी भएको कुरा कार्यान्वयन गर्ने कि नगर्ने भन्ने कुरा हो । र, त्यसको कार्यान्वयन नगर्ने तर्क आएको हुनाले म त्यसप्रति सहमत हुन सकिनँ’, उनले भने ।

पार्टीको निर्णय नै नमान्ने र सुझावहरूलाई कार्यान्वयन गर्न अस्वीकार गरेकाले राजीनामा दिएको उनको भनाइ छ । ‘एकातिर भीम रावललाई कार्यदल संयोजकको जिम्मा छ कार्यान्वयन गरे भइहाल्यो भन्ने, अर्कोतिर पार्टीमा भएका छलफल र केन्द्रीय कमिटीले गरेको निर्णय मान्ने नभएपछि त्यो कार्यदलमा बसिरहनुको कुनै औचित्य नभएको हुनाले त्यसबाट राजीनामा दिने बैठकमा घोषणा गरेको छु र लिखित रूपमा भोलि अध्यक्षलाई पठाउने जानकारी गराएको छु’, उनले भने ।

रावलले १० बुँदे सहमतिविपरीत केन्द्रीय समितिमा मनोनीत गर्ने विषयमा पनि असहमति जनाएका छन् । ‘कुनै छलफल नगरी, विधि पद्धतिबिना दुई जना राख्ने कुरामा असहमति छ’, उनले भने । रावलले आफ्ना लागि महाधिवेशन महत्त्वपूर्ण कुरा नभएको बताए । पार्टी एकताबद्ध बनाउने कुरा ठूलो भएको उनको भनाइ थियो ।