‘ट्रान्सजेन्डर’नुराको चमकदार अनुहारमा लुकेको पीडा

By मनोज घिमिरे

November 22, 2021

काठमाडौँ– सेप्टेम्बर महिनामा मलेसियाका अध्यागमन अधिकारीहरूले अस्वाभाविक किसिमले एक जनालाई गिरफ्तार गरेको समाचार प्रकाशमा आयो । यसरी गिरफ्तार हुनेमा अरु कोही नभएर ३६ वर्षीय ग्ल्यामरस नुर साजाद कामारजामान थिइन् । कस्मेटिक ‘इन्टरप्रेनर’ नुर साजाद मलेसियामै सामाजिक सञ्जालमा धेरै फ्लोअर भएका मध्यकी एक हुन् ।

जनवरी मै उनीमाथि इस्लामको उपहास गरेको आरोप लगाइएको हो । यो आरोप अनुसार उनलाई तीन वर्ष जेल पनि हुन सक्छ । २०१८ मा आफैले आयोजना गरेको धार्मिक कार्यक्रममा लगाइएको पोसाकको आधारमा उनलाई गिरफ्तार गरिएको हो । नुर साजाद ‘ट्रान्सजेन्डर’ हुन् । मलेसियाका अधिकारीको हेराइमा उनी पुरुष हुन् । त्यसकारण उनले महिलाको पहिरन लगाउनु गलत हो । अस्ट्रेलियामा शरणार्थीको रूपमा बस्न चाहेकी उनलाई यस अघि नै थाइल्यान्डले शरणार्थीको रूपमा स्वीकार गरी सकेको थियो।

सञ्चारमाध्यमसँगको कुराकानीमा उनी आफूमाथि आक्रमण भईसकेपछि यो स्थान छाड्नुको विकल्प नभएको नै बताउँछिन् । धार्मिक सरोकार राख्ने अधिकारीहरू जीयाएसले उनीमाथि सेलान्गर राज्यमा रहँदा आक्रमण गरेका थिए । सोही राज्यमा उनी एक पटक गिरफ्तार भएकी थिइन् ।

‘मलाई भाग्नु परेको थियो । मलाई असह्य व्यवहार गरियो । मेरै अभिभावकका अगाडि मलाई धकेल्ने, पिट्ने र चिथोर्ने समेत भयो । म लज्जित भएँ । मैले आफ्नो सबै कुरा राखेँ पनि उनीहरूले मलाई छाडेनन् ।’ पीडादायक अवस्था सम्झँदै उनी भन्छिन्, ‘उनीहरूले मलाई यो सब गरे किनकि म ट्रान्सजेन्डर हुँ । उनीहरूले यसै कारण मेरो कुरामा ध्यान दिएनन् । हाम्रा पनि भावना हुन्छन् र अन्य व्यक्तिले झैँ बाच्ने अधिकार हुन्छ ।’

नुर साजाद सक्रिय तथा आफ्नै मेहनतले निखारिएकी इन्टरप्रेनर हुन् । सात वर्ष अगाडि उनले आफूलाई सामाजिक सञ्जालमा प्रमोट गर्ने घोषणा गरेकी थिइन् । उनले आफ्ना लागि भिन्नै स्किन केयर र स्वास्थ्यका लागि आवश्यक अन्य सामग्री तयार पार्न थालिन् । यो सँगै उनको नाम नै ब्रान्ड बन्न थालेको थियो ।

चमकदार अनुहार र हेर्न लायक मिडिया प्रस्तुतिले उनका समर्थक लाखौँको मात्रामा बढ्दै गए र सेलीब्रटीको रूपमा स्थापित भइन् । यसपछि उनको लैङ्गिक पहिचानबारे प्रश्न उठ्न थालेको हो ।

सबैलाई के थाहा थियो भने नुर साजादले २०१३ मा थाइल्यान्डमा भएको ट्रान्सजेन्डर ब्युटी कन्टेस्टमा सहभागी भएकी थिइन् । तत्कालीन समयमा त्यो कन्टेस्टले संसारकै ध्यान आकृष्ट गर्न सफल भएको थियो । कन्टेस्टमा उनले नृत्यका लागि अवार्ड जितेकी थिइन् ।

मलेसियामा फर्केपछि उनी इस्लाम महिलाले टाउको ढाक्न लगाउने हिजाब पहिरिएपछि विवादमा परेकी थिइन् । कसैले यसलाई इस्लाम प्रतिको आस्थाको निरन्तरताको रूपमा बुझे भने कसैले उपहासको रूपमा बुझे ।

उनले धेरैलाई आफू जन्मिदा नै महिला र पुरुषकै अङ्गको केही मिसिएको रूपमा जन्मिएको बताउन थालिन् । यो बताएसँगै उनी माथिको आक्रमण झनै बढ्न थालेको हो । दुवै लैङ्गिक अवस्था भएकालाई त्यहाँका धार्मिक क्षेत्रमा गरिने व्यवहार अझ खराब छ । २०१७ मा साजादले आफू पूर्ण रूपमा महिला भएको दाबी गरिन् । सोही समय उनले यसलाई पुष्टि गर्ने चिकित्सकीय प्रमाण पनि पेस गरिन् ।

यसपछि नै त्यहाँका अधिकारीहरूले यसलाई छानबिन गर्ने सोच बनाए । इस्लामिक विकासका लागि गठन भएको विभाग जाकिमले उनीमाथि छानबिन गर्न सुरु गरेको हो । नुर साजादको लैङ्गिक विवाद निम्तिएपछि जन्मिदा दुवै लैङ्गिक अवस्था भएको प्रमाण जुटाउन भनिएको थियो ।

गत वर्ष मक्कामा आफ्नै परिवारसँगै गएकी उनी आफ्नै गार्मेन्टमा उत्पादित इस्लाम पहिरनसहित उपस्थित भइन् । उनको यही प्रस्तुति धेरैका लागि टाउको दुखाइ बनेको थियो । यसरी कोलाहल नै मच्चिएपछि उनले यसमा क्षमा याचना पनि गरेकी थिइन् । यसका बाबजुद पछिल्लो एक वर्ष उनी कानूनी झमेलामा परेकी छिन् ।

‘यदि म धार्मिक थिएँ भने म किन यसरी जन्मिएँ भनेर प्रश्न गर्न सक्छु ? एक इस्लाम धर्मावलम्बी ट्रान्सजेन्डर महिलाको नाताले मेरो धर्मलाई मान्ने मेरो आफ्नै तरिका हुन सक्छ । यदि उनीहरू भगवानकै नाममा यो सब गरी रहेका छन् भने मलाई सजाय दिने कुनै अधिकार छैन’, नुरले आफ्नो कुरा व्यक्त गरेकी छिन् । नुरले यो धारणा राखी सकेपछि मलेसियाको धार्मिक मामला विभागले कुनै प्रतिक्रिया दिएको छैन ।

सेप्टेम्बर महिनामै धार्मिक मामला मन्त्री इद्रीयस अहमदले नुरलाई पुरुषको रूपमा इङ्गित गर्दै आफ्नो धारणा राखेका थिए । ‘उ आफ्नो ढङ्गले हाम्रो सामु प्रस्तुत हुन्छ भने त्यो गलत हो । उ साँचो प्राकृतिक रूपमा प्रस्तुत भए यसमा समस्या हुने छैन । हाम्रो चाहनालाई उसलाई सजाय दिने होइन । हाम्रो चाहना त उसलाई शिक्षा दिने हो,’ मन्त्री अहमदले भनेका छन् ।

पर्लीसमा रहेका वरिष्ठ इस्लाम सल्लाहकार मोहम्मद अस्री जैनुल अबिदिनले साजादको केस अनौठो खाले भएको प्रतिक्रिया दिएका छन् । अविदिनले साजादले नै धार्मिक अधिकारीलाई उक्साउने किसिमको गतिविधि गरेको आरोप लगाएका छन् । ‘इस्लाम धर्मले व्यक्तिगत सवालमा चासो दिँदैन । यसलाई ईश्वर र तिमी बिचको कुरा भनेर छाड्ने गरिएको छ । तर महिलाको रूप धारण गरेर महिलाको शौचालयमा प्रवेश गर्नु भने अपराध हो ।’

मलेसियामा अप्ठेरो कानून छ । एकातर्फ धेरै प्रान्तमा इस्लामिक सायरीया कानून छ भने अर्कोतर्फ त्यहाँको सङ्घीय कानूनका आफ्नै विशेषता छन् । यसले सबै खाले एलजीबीटीलाई समस्यामा पारेको छ ।

महिलाको पहिरन लगाएकै कारण जेल परी सकेकी ट्रान्सजेन्डर अभियन्ता निसा आयुव हरेक राज्यमा सारिया कानून उनीहरूको विरुद्धमा लक्षित रहेको बताउँछिन् । सारिया कानूनकै कारण त्यहाँका राजनीतिज्ञ, नेता र धार्मिक अधिकारीहरू ट्रान्सजेन्डरको विरुद्धमा नकारात्मक धारणा राख्दै हिँडेको र यसले आफूहरूलाई अप्ठेरो पारेको उनको मत छ ।

महिला अधिकारका लागि काम गरी रहेको संस्थाकी नेतृ रोजना इसा कुनै समय मलेसियाको सरकार ‘ ट्रान्सजेन्डर’ प्रति लचिलो र स्वीकार गरी सकेको अवस्था रहेको बताउँछिन् । उनकै विचारमा नुर साजादलाई पनि त्यहाँका इस्लामहरूले स्वीकार गरी सकेका थिए । ‘तपाइ उनीहरूलाई हाम्रै समूदायमा, हाम्रै परिवारमा र सामाजिक जीवनमा देख्न सक्नु हुन्छ । तर, पछिल्लो ३० वर्ष यता इस्लामिक कठोरपन बढ्दै गएपछि अवस्था फेरिएको छ ।

अहिले नयाँ कानून तथा इस्लामबारे नयाँ व्याख्या देख्न सकिन्छ । विविधताको पक्षबाट हेर्दा यो स्वीकार गर्न नै धेरै कठिन भएको छ’ रोजानाको त्यहाँ इस्लाम धर्मका नाममा बढ्दै गएको कठोरपनाको व्याख्या गरे पनि कानुनी प्रावधान विरोधाभास छ । इस्लाम मलेसियाको एक मात्र औपचारिक धर्म होइन । तर मलाए भए बापत मान्नै पर्ने केही विशेषता छन् । मलाए मलेसियाको सबैभन्दा बढी जनसङ्ख्या ओगटेको समूदाय हो ।

निर्वाचन बढ्दै जाँदा हरेक राजनीतिक दलले त्यहाँ ‘ मलाया हर्ट ल्यान्ड’को मुद्दा उठाउने गरेका छन् । सो समयमा धेरै राजनीतिक अतितवादका कुराले पनि मानिसहरू खुसी रहन सक्छन् । यी क्षेत्रहरूमा दलहरूले इस्लामिक मूल्यलाई अझ कडा बनाउने कुरा उठाइ रहेका हुन्छन् ।

निसा आयुव ‘ट्रान्सजेन्डर’को अधिकार र भिन्न खालको इस्लाम धर्मावलम्बीको सम्मानलाई सुरक्षित गर्नुपर्ने दायित्व सरकारको नै भएको धारणा राख्छिन् । उनले यसैका लागि पाकिस्तान लगायत देशले आफूलाई परिवर्तन गरिरहेको उदाहरण दिन चाहन्छिन् ।

उनले देशका नेताले अल्पसङ्ख्यकको धारणाको सम्मान गर्न सके यो ठूलो परिवर्तन हुने कुरामा जोड दिन्छिन् । उनी कानून परिवर्तन गर्दै लैङ्गिक अल्पसङ्ख्यकका लागि काम भए यसले यस समूदायमा रहेका जीवन सहज हुने बताउँछिन्।

नुर साजादले आफूले ‘एडप्ट’ गरेका छोरा र छोरीलाई अहिले मिस गरी रहेकी छिन् । यी दुवै उनको परिवारसँग मलेसियामा बसिरहेका छन् । नुर भने अस्ट्रेलियामै रहेर यो समूदाय र अन्यसँग आफ्ना अनुभव साटिरहेकी छिन् । राजानले भने नुरले केही बिगार नगरेको बताउँदै उनको सामाजिक सञ्जालमा केही पनि खराब विषय उल्लेख नभएकोमा अडिग छिन् । उनी सरकारी र धार्मिक अधिकारीहरू अन्यलाई परिष्कृत बनाउनु भन्दा उनीहरू आफै परिष्कृत हुन आवश्यक रहेकोमा जोड दिन्छन् ।

मलेसियामा नुर साजादले यो समस्या भोगी रहे पनि कतिपय देशका सारिया कानुनले ‘ ट्रान्सजेन्डर’लाई विवाहका लागि अनुमति दिएका छन् । यसमा पाकिस्तानले एकै पटक यो अधिकार दिए पछि यो समाचार संसारमा चर्चाको विषय बनेको थियो ।

मान्छे कसरी जन्मने भन्ने आफ्नो बसको विषय होइन । अस्वाभाविक लैङ्गिक स्वरूपकी नुरले आफूले पनि अन्यले जस्तै सम्मानजनक जीवन बाच्न पाउनु पर्छ भन्ने आवाजमा अहिले धेरै मानव अधिकारकर्मीको ध्यान पनि आकृष्ट भएको छ । सायद, यही आवाज संसारमा नै फैलिएकै कारण मलेसिया सरकारले पनि यस समस्यालाई समाधान गर्न नयाँ कानूनको तयारी पनि गर्ने छ ।