राजनीति

प्रधानन्यायाधीश राणालाई महाअभियोग लगानुपर्ने मागसहित बारले सभामुखलाई बुझायो ज्ञापनपत्र

By खबरहब

November 22, 2021

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनमा माग्दै आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनले सोमबार सभामुख अग्नि सापकोटालाई ज्ञापनपत्र बुझाएको छ । चौथो चरणको आन्दोलन गरिरहेको बार न्यायालय सुधारका लागि सर्वोच्चका न्यायाधीश र बारले प्रयास गरिरहेका बेला राजनीतिक दलहरु चुप लागेको भन्दै असन्तुष्ट छ ।

बारले राणाले राजीनामा नदिए महाभियोग लगाउनुपर्नेसमेत बताएको छ । बारको ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले न्यायालयको समस्या समाधानका लागि आफूले सक्दो सहयोग गर्ने बताएका छन् । उनले आफ्नो योग्यता र क्षमताले भ्याएसम्मको सहयोग गर्ने बचन दिएका छन् ।

सभामुखलाई ज्ञापन पत्र बुझाउन बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायतका पदाधिकारी सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका थिए । उनीहरुले ज्ञापन पत्र बुझाउँदै प्रधानन्यायाधीश राणाको राजीनामा नआएसम्म बार आन्दोलनबाट पछाडि नहट्ने बताएका थिए ।