राजनीति

विवेकशील साझाले ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ गर्ने

By खबरहब

December 22, 2021

काठमाडौँ- विवेकशील साझा पार्टीले यही पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ‘महाकाली-मेची राष्ट्रिय एकता यात्रा’ शुरु गर्ने भएको छ ।

कञ्चनपुरबाट यही पुस २७ गते सुरु हुने यात्रा शहीद दिवसको दिन माघ १६ गते झापामा पुगेर अन्त्य गरिने पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

यात्राको मुख्य उद्देश्य नागरिकका आ–आफ्ना वैचारिक दृष्टिकोण भए पनि ‘विचारभन्दा माथि देश’ नै हो भन्ने भावना प्रवर्द्धन गर्नु हो ।

त्यस्तै राष्ट्रिय एकता तथा देशको स्वाधीनता, शान्ति, स्थिरता, विकास र दूरगामी हितलाई सुनिश्चित गर्ने विवेकशील साझा पार्टीका एजेण्डा आम सर्वसाधारणसम्म पुर्‍याउनु, पार्टीको आम नागरिकसँगको सम्बन्धलाई अझ मजबुत बनाउनु र जातीय, क्षेत्रीय तथा धार्मिक रूपमा बढ्दै गएको मनोवैज्ञानिक दूरी कम गर्न सघाउनु रहेको छ ।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले देशको स्वार्थ गौण र राजनीतिकर्मीको स्वार्थ प्रधान हुँदै जाँदा एकातर्फ नेपालको स्वाभिमान अत्यधिक रूपमा क्षयिकृत हुँदै गएको र राजनीतिकर्मीले देशलाई शिरमा नराख्दा सुशासनको अपेक्षा गर्न नसक्ने स्थितिमा पुगेको बताए ।

उनले सबै भन्दामाथि देश नै हो भन्ने भावना सबैमा जागृत गराउन र उक्त भावना प्रवर्द्धनको शुभारम्भ गर्ने दिन राष्ट्रिय एकता दिवस बाहेक अर्को हुन नसक्ने बताए ।