इनसाइट/स्पेशल

लक डाउन नभए पनि सुनसान पर्यटकीय क्षेत्र

By सविना कार्की

March 23, 2021

काठमाडौँ- आन्तरिक र बाह्य पर्यटकले भरिभराउ हुने पोखराको फेवाताल झण्डै एक वर्षदेखि सुनसान छ ।

पोखराका पर्यटकीय स्थलहरूमा फेवाताल, सराङकोट, पातले छाँगो, गुप्तेश्वर गुफा, बिन्ध्यवासिनी मन्दिर, तालवाराही मन्दिर, महेन्द्र गुफा, चमेरे गुफा, डा. के आई सिं पुल, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय लगायतका क्षेत्रमा अहिले आन्तरिक पर्यटकको केही चहलपहल बढे पनि बाह्य पर्यटकहरू भेटिन मुश्किल छ ।

अहिले पर्यटक आउने मुख्य सिजन हो तर कोभिडका कारण यस वर्ष गत वर्षहरूमा झैँ पर्यटक छैनन् । झन्डै एक वर्षदेखि पर्यटकीय क्षेत्रहरू ठप्प छन् ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन भएपछि पोखराको पर्यटन व्यवसाय सुक्न थालेको हो ।

लकडाउन अन्त्य भएको पनि ६ महिनाभन्दा बढी भइसकेको छ तर नेपाल भ्रमणमा आउने पर्यटकको संख्या बढ्न सकेको छैन । पोखराको पर्यटन व्यवसाय पनि तङ्ग्रिन सकेको छैन ।

पर्यटकीय स्थलहरूमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थाले पनि बाह्य पर्यटक नहुँदा आम्दानी ह्वात्तै घटेको छ । होटल र रेस्टुराँहरू मारमा परेका छन् ।

ऋण लिएर भाडा तिर्दै

धादिङका माधव भट्ट विगत २२ वर्षदेखि ठमेलमा व्यवसाय गर्दै आइरहेका छन् । अहिले उनको पसलमा नेपाली उत्पादन ‘झोला’ र ‘कपडा’ झुन्डाइएका छन् ।

उनको पसलमा सामान खचाखच छ तर व्यापार छैन । कोरोना भाइरसको त्रास नहुँदो हो त यतिबेला उनलाई भ्याईनभ्याई हुन्थ्यो । अहिले मुख्य सिजनमा पनि दिनभरिमा एक जना ग्राहक पनि पसलमा नआएको उनले बताए ।

मासिक ३५ हजार भाडा तिर्न पनि रकम जुटाउन नसकेको ठमेलका अर्का व्यवसायी सुमन क्षेत्री बताउँछन् । हस्तकलाका सामान बेच्ने सुमनले यसअघि व्यवसायमा कहिल्यै मन्दी नलागेको बताए ।

उनी भन्छन्, ‘नाकाबन्दी र भूकम्पजस्ता समयमा पनि हाम्रो व्यापार रोकिएन । त्यति बेला पर्यटकको आवगमनमा बाधा भएको थिएन । अहिले त एक वर्षदेखि ठप्प नै छ ।’ पर्यटकको आवगमन सहज बनाउन सरकारलाई उनको सुझाब छ ।

साउनदेखि पसल खोलिरहे पनि घरधनीलाई भाडा बुझाउन ऋण लिनु परेको उनले बताए । कुनै दिन व्यापार होला भन्ने आशाले धानिरहेको उनको भनाइ छ ।

ठमेलका सबै जसो व्यापारी यस्तै अवस्थामा छन् ।

पर्यटन प्रवर्द्धनको योजना लकडाउनका समयमा बनाइएको मापदण्ड अनुसार नेपाल आउने पर्यटक अनिवार्यरूपमा एक साता क्वारेन्टिनमा बस्नुपर्छ । नेपाल पर्यटन बोर्डका अनुसार अहिले अनिवार्य क्वारेन्टिनको प्रावधान हटाउने प्रस्ताव मन्त्री परिषद्मा पुगेको छ ।

‘नेपाल घुम्न आउने पर्यटकका लागि अनिवार्य क्वारेन्टिनको प्रावधान हट्ने प्रक्रियामा छ’ बोर्डका निर्देशक मणिराज लामिछानेले भने, ‘आगामी दिनमा पीसीआर परीक्षण गरेको नेगेटिभ रिपोर्ट लिएर आउने पर्यटकले निर्बाध घुम्न पाउनेछन् ।’

अनिवार्य क्वारेन्टिनको प्रावधान हट्नासाथ पर्यटकको संख्यामा वृद्धि हुने बोर्डको अपेक्षा छ । कोरोनाले थलिएको पर्यटन व्यवसाय पुनरुत्थानका लागि पर्यटन बोर्डले केही योजनाहरू अघि सारेको छ ।

बोर्डका अनुसार पर्यटन प्रर्वद्धन गर्न नेपालले अन्तर्राष्ट्रिय प्रवद्र्धनमा भाग लिँदै छ । भारतमा आयोजना हुने ‘साउथ एसियाज ट्रावल एण्ड टुरिजम एक्सचेन्ज (साटे)’ मा भाग लिन लागेको विभागका निर्देशक लामिछानेले खबरहबलाई जानकारी दिए ।

उनका अनुसार मार्च २४ देखि २६ तारिखसम्म भारतको ग्रेटर नोयडामा आयोजना हुने उक्त कार्यक्रममा बोर्डको नेतृत्वमा नेपाल वायुसेवा निगमसहित विभिन्न २५ ओटा कम्पनी सहभागी हुने भएका छन् ।

यससँगै भारतमा हुने अन्य मेला तथा महोत्सवमा पनि सहभागी हुने बोर्डको तयारी छ ।

नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा पहिलो नम्बरमा पर्ने भारतमा फेरि कोरोना संक्रमण बढ्न थालेको छ । यसले नेपाललाई कस्तो प्रभाव पार्ला ?

यस विषयमा लामिछाने भन्छन्, ‘भारत मात्र होइन जुनसुकै देशबाट आउने पर्यटकको पनि पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ भएकालाई मात्र प्रवेश दिइने हो, त्यसकारण डराउनुपर्ने अवस्था छैन ।’

बोर्डको तथ्यांकअनुसार सन् २०२१ को पहिलो महिना जनवरीमा ८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका थिए । त्यस्तै फेब्रुअरीमा ९ हजार १४६ जना पर्यटक भित्रिएका छन् ।

लकडाउन अघिको अवस्थामा यो सिजनमा ९० हजारदेखि एक लाखको हाराहारीमा पर्यटकहरू भित्रने गरेको बोर्डले जनाएको छ ।

 

खबरहबको सामग्री एप्सबाट पढ्न एन्ड्रोइडका लागि यहाँआइएओएस (आइफोन)का लागि यहाँ क्लिक गर्नुहोस् । खबरहब अंग्रेजी तथा फेसबुक र युटुबमार्फत पनि हामीसँग जोडिनुहोस् ।