प्रेरक

मान अपमान : प्रेरक प्रसङ्ग

By खबरहब

September 23, 2021

धेरै पहिलाको कुरा हो । बंकीमको नियुक्ति मेजिस्ट्रेटको पदमा यशोहर नामक स्थानमा भएको थियो । एक दिन उनी आफ्नो पाल्कीमा बसेर कतै गइरहेका थिए । बाटोमा पाल्की एउटा पार्कको बाटो भएर गयो । पार्कमा केही अँग्रेजी अधिकारी क्रिकेट खेलिरहेका थिए ।

कुनै भारतीयलाई पाल्की पार्कमा देखेर एउटा अँग्रेजलाई रिस उठ्यो । उसले पाल्कीमा लात्तले हान्यो । स्वाभिमानी बंकीम यो घटनाले क्रोधित भए । उनी पाल्कीबाट ओर्लिएर लात्तले हान्ने अँग्रेज अधिकारीतिर अगाडि बढे । तर उनले आफ्नो रिस शान्त पार्नुपर्‍यो । लात्तले हान्ने त्यो मानिस उनकै एक अधिकारी ब्रेनविज थियो । बंकीम चुपचाप घर आए । तर उनले आफ्नो अपमान बिर्सन सकेनन् ।

अर्को दिन उनले ब्रेनविजमाथि मानहानीको मुद्दा दायर गरे । विभागका अनेकौँ अधिकारीले मुद्दा फिर्ता लिनको लागि भने । मुद्दा फिर्ता नलिएमा नोकरीबाट निकालिने धम्की समेत दिए, तर बंकीमले मानेनन् ।

अन्त्यमा ब्रेनविजले अदालतमा बंकीमसँग क्षमा माग्नुपर्यो । यस्ता थिए बंकीमचन्द्र चट्टोपाध्याय । उनी आफ्नो जीवनकालमा कसैको अगाडि झुकेनन् र कसैको अपमान सहेनन् ।

साभार  : प्रेरक प्रसङ्हरु पुस्तकबाट