राजनीति

ओलीले आफ्नो भक्तिगान गर्नेलाई चाकर बनाएर राखे : झाँक्री

By खबरहब

October 23, 2021

काभ्रे– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेकपा एमाले अध्यक्ष केपी ओलीले आफ्नो भक्तिगान गर्नेलाई चाकर बनाएको टिप्पणी गरेकी छन् ।

शनिबार नेकपा (एकीकृत समाजवादी) धुलिखेल नगर कमिटीले आयोजना गरेको विजया दशमी तथा शुभ दीपावली २०७८, नेपाल संवत् ११४२ र छठ पर्वको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्री ओलीमाथि खनिइन् ।

उनले ओलीमा लोकतान्त्रिक चरित्र नभएकोसमेत जिकिर गरिन् । ओलीले आफ्नै बहुमतको सरकार हुँदासमेत असलशासन दिन नसकेको बताइन् । उनले ओलीको जीवनमा लोकतन्त्रको असल अभ्यास कहीँ कतै पनि नभेटिने टिप्पणी गरिन् ।

मन्त्री झाँक्रीले संविधानको रक्षा गर्दै जनताको भावना र चाहनाअनुसार जिम्मेवारीपूर्वक काम गरेर देखाउने बताइन्। ‘मैले पाएको जिम्मेवारीलाई जनभावनाअनुसार इमान्दारीका साथ निभाउन प्रयास गर्नेछु’, उनले भनिन्, ‘वर्तमान सरकारले देशमा भइरहेको भ्रष्टाचार र कुशासनविरुद्ध काम गर्नेछ।’

कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले केपी ओलीले उद्घाटन तथा शिलान्यास गरेको कुनै पनि योजनाका आधिकारिक कागजात मन्त्रालयमा नभेटिएको र ओलीले सस्तो लोकप्रियताका लागि मात्रै ती काम गरेको पाइएको बताइन्।