फाइल फोटो

राजनीति

लोकतन्त्रमाथिको संकट टरेको छैन : वरिष्ठ नेता पौडेल

By खबरहब

October 23, 2021

कैलाली– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाढी, पहिरो प्रभावित जनतालाई सरकारले राहत दिनुपर्ने बताएका छन् । उनले विपदमा परेकाका लागि प्याकेज कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

कांग्रेस कैलालीले शनिबार धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा वरिष्ठ नेता पौडेलले किसानलाई बीउविजन, मल, ऋण, क्षतिपूर्ति, भत्केका संरचना निर्माणलगायत सबै किसिमको प्रबन्ध मिलाउन सरकारले दीर्घकालीन र तत्कालीन कार्यक्रम ल्याउनुपर्ने बताए ।

सरकारलाई अझ तदारुकताका साथ राहत कार्यक्रममा जुटन आग्रह गर्ने उनको भनाइ छ ।

फरक प्रसङ्गमा नेता पौडेलले अझै पनि लोकतन्त्रमाथि सङ्कट नटरेकाले त्यसको रक्षाका लागि कांग्रेसले खबरदारी गर्नुपर्ने बताए ।

उनले भने, “कांग्रेस बलियो भयो भने मात्रै नेपालमा लोकतन्त्रको रक्षा हुन्छ र लोकतन्त्रको रक्षा भए मात्रै नेपाल राष्ट्रको स्वाधिनताको रक्षा हुन्छ ।” वरिष्ठ नेता पौडेलले कांग्रेसको सबलता र सक्षमता नेपालको लोकतन्त्रसँग गाँसिएको उल्लेख गरे । रासस