समाचार

रोम विधान अनुमोदन गर्न सरकारलाई आग्रह

By खबरहब

August 24, 2021

काठमाडौँ– मानवअधिकार तथा शान्ति समाजले रोम विधान अनुमोदन गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । समाजको एक प्रतिनिधिमण्डलले मंगलबार कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भेटेर संक्रमणकालीन न्याय, मानव धिकार, शान्ति एवं समसामयिक विषयमा ध्यानाकर्षण रोम विधान अनुमोदन गर्न आग्रह गरेको हो ।

कानुन, न्याय तथा संसदीय मन्त्रालय सिंहदरबारमा भएको छलफलमा संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउन, यस सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला, अन्तर्राष्ट्रिय मानवअधिकार एवं मानवीय कानुनको मर्म अनुरुप ‘बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन’ लाई शिघ्र संसोधन गर्न शान्ति समाजले आग्रह गरेको छ ।

यसैगरी नेपाल राज्यपक्ष भएका मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुरुप कानुन निर्माण तथा परिमार्जन तदारुकताका साथ गर्न जोड दिँदै अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधानलाई अनुमोदन गर्न आग्रह गरेको हो । प्रतिनिधिमण्डलमा समाजका सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाई, महासचिव रामकृष्ण बराल, केन्द्रीय सदस्य कृष्णनारायण श्रेष्ठ लगायत संलग्न थिए ।