‘तिम्रा बाबु तिम्रै लागि भिडिरहेका छन् ।’
सन् १९६८ मा आफ्ना बाबु मोहम्मद अलीले यसो भनिरहँदा उनकी छोरीले यसको अर्थ बुझेकी थिइनन् । सन् १९६० देखि १९८० सम्म प्रोफेसनल बक्सिङको हेभिवेट स्पर्धामा मोहम्मद अलीको सनसनीपूर्ण प्रदर्शन इतिहासमा पठनीय गाथा बनेको छ ।
यसको अर्थ यो होइन कि मोहम्मद अलीलाई सबैले मन पराउँथे । रिङभित्रभन्दा बाहिर धेरै भिडन्त गरेका उनको जीवनीमा आधारित भएर निर्देशक केन बन्र्सले चार भागमा आठ घण्टा लामो डकुमेन्ट्री फिल्म बनाएका छन् ।
बन्र्सका विचारमा मोहम्मद अलीको व्यक्तित्व बक्सिङभन्दा धेरै माथिको हो । मोहम्मद अली खेलकुद, समाजमा खेलकुदको भूमिका, अश्वेत खेलाडी, धार्मिक विश्वास, राजनीति र लडाइँ; यी सबैसँग जोडिएको नाम हो । उनलाई मन नपराउनेहरू पनि धेरै थिए । उनलाई अब्राहम लिङ्कन र मार्टिन लुथर किङको उत्तराधिकारी मान्नेहरू पनि धेरै थिए ।
आजका धेरै मान्छे मोहम्मद अलीलाई सबैले मन पराउँथे भन्ने भ्रममा छन् । सबै श्वेतहरूले उनलाई सुरुदेखि नै मन पराउँथे भन्ने भ्रम पनि धेरैलाई थियो । अलिकी छोरी रसिदाका अनुसार उनका बाबुको जीवन अहिलेको पुस्ताले कल्पना गरेभन्दा धेरै जोखिमपूर्ण र कहालीलाग्दो थियो ।
रसिदाको कथनअनुसार बाबु अलीमाथि बारम्बार ज्यानको जोखिम थियो । यस्ता धेरै जोखिम धार्मिक र साम्प्रदायिक कुरामा कट्टर श्वेतहरूबाट थियो । रसिदाका अनुसार त्यो समयमा जातीय र साम्प्रदायिक सोचले अमेरिका ग्रस्त थियो ।
क्यासीयस क्ले को रूपमा विश्व खेलकुदमा सनसनी फैलाउने उक्त पात्रको जन्म १९४२ मा भएको भएको थियो । मिसिसिपीमा १४ वर्षको उमेरमा मारिएका एमेट टिल्सको उमेर र क्यासियस क्लेको उमेर एउटै थियो । समाधिको समयमा टिल्सको लास उनकी आमाले सबैलाई हेर्न अनुमति दिएकी थिइन् । क्षतविक्षत त्यो लास देखेकै कारण अलीको मानसपटलमा एउटा प्रश्न उब्जिएको थियो– मान्छेको जीवनभन्दा जात, धार्मिक सम्प्रदाय र देशको भूगोल कसरी ठूलो हुन सक्छ ?
सन् १९६० का ओलम्पिक स्वर्ण पदक विजेता अलीले त्यसै वर्ष प्रोफेसनल बक्सिङ खेल्न थाले । उनी १९६१ मा रिलिज भएको लुइस फकरानको गीत ‘ह्वाइट मेन्स हेभेन इज ब्ल्याक मेन्स हेल’ खुब सुन्ने गर्थे । जब लाउसोभिलमा हुने भिडन्तमा श्वेत प्रायोजकले उनको उपस्थिति नचाहेको थाहा पाउँथे, उनी बारम्बार यही गीत सम्झिन्थे ।
त्यसै समयमा उनको सम्पर्क माल्कोम एक्स र मार्टिन लुथर किङ जुनियरसँग हुन थालेको थियो । मार्टिन लुथरलाई अमेरिकी समानता आन्दोलनको नायकको रूपमा संसारले चिनेको छ । मानव अधिकारवादी अफ्रिकन–अमेरिकन मुस्लिम माल्कोम ६० को दशकमै अमेरिकामा मन्त्री भएका थिए ।
सन् १९६४ मा सोनी लिस्टनलाई हराएर विश्व च्याम्पियन हेभिवेट मुक्केबाज भएपछि अलीले कसैसँग सम्झौताको आवश्यकता देखेनन् । उनले एक पटक सञ्चारकर्मीसँग भने, ‘तिमीले मलाई जुन रूपमा देख्न चाहेका छौ, म त्यसै रूपमा रहन आवश्यक छैन । म जे चाहन्छु, त्यो गर्न र सोच्न स्वतन्त्र छु ।’
उनको यो अभिव्यक्ति चर्चामा रहेको थियो । यसको केही समयपछि उनले आफ्नो नाम क्लासियस एक्स राखे । अनि फेरि मोहम्मद अली नाम राखेर इस्लाम धर्मावलम्बी बने ।
मोहम्मद अली डकुमेन्ट्रीमा पर्फेक्ट हिरोका रूपमा प्रस्तुत गरिएका छैनन् । ‘हिरो इज नट परफेक्ट’ भन्ने ग्रीक मान्यताझैँ उनको जीवनको नकारात्मक पाटो पनि देखाइएको छ । चार श्रीमतीमध्ये तीन जनालाई अन्याय गरेको कुरा फिल्ममा छ ।
नयाँ विश्व च्याम्पियन अलीले पाँच साता अफ्रिका भ्रमण गरे । त्यहाँ उनलाई आफ्नो पहिचान कति शक्तिशाली रहेछ भन्ने थाहा भयो । यसविपरीत आफ्नै ठाउँमा कसैले चासो नदिएको पनि उनलाई महसुस भएको थियो ।
सञ्चारमाध्यम उनी जे थिए, त्यो भन्दा फरक भएको देख्न चाहन्थ्यो । मोहम्मद अलि धूमपान र मद्यपानबाट टाढा थिए । माल्कम एक्सका अनुसार त्यहाँका सञ्चारमाध्यम भने उनलाई अन्य अमेरिकी युवाजस्तै भएको हेर्न चाहन्थे ।
मोहम्मद अली नाम राखेको भएको १० वर्षपछि पनि उनलाई क्लासियस क्ले भनेर सम्बोधन गरिन्थ्यो । उनको नयाँ परिचय अस्वीकार्य रहेको भन्ने सन्देश धेरैले पठाउँथे । मोहम्मद अलीको जीवनमा एउटा मोड भियतनाम युद्धले ल्याएको थियो ।
भियतनाम युद्धको समयमा अमेरिकी सैनिक नीतिअनुसार नागरिकहरू वर्गीकृत गरिए । उनलाई बारम्बार सेनामा आबद्ध भएर युद्धमा जान भनिएको थियो । यसैबीच सन् १९६७ फेब्रुअरीमा रिङमै विपक्षी अर्ने टेरेलसँग उनको झगडा प¥यो । टेरेलले अलीको नयाँ परिचय अस्वीकार गरे, झगडा यसैमा भएको थियो । उक्त घटनामा पत्रकारहरूले अलीको अलोचाना गरे, घटनालाई दुर्भावनापूर्ण भने ।
त्यसको दुई महिनापछि अमेरिकी सेनाले तयार पारेको तालिकाअनुसार अली समावेश नभएपछि अमेरिकी बक्सिङ सङ्घले उनीमाथि तीन वर्षको प्रतिबन्ध लगायो । उनलाई १० हजार डलर जरिवाना र ५ वर्ष कारावास पनि घोषणा भयो ।
यो घटनाले अलीलाई विक्षिप्त तुल्यायो । ‘म र अरू अश्वेत भनिएकाहरू किन त्यति टाढा, अन्य निर्दोष खैरा व्यक्तिहरूमाथि बमबारी गर्न म त्यहाँ जाऊँ !’ उनी जेल सजाय त के मृत्युदण्ड पनि भोग्न तयार थिए तर सेनामा नजान अडिग रहे ।
खेल जीवनको उचाइमा रहेका बेला उनीमाथि तीन वर्षको प्रतिबन्ध लागेको थियो । उनलाई कलेज र अन्य क्षेत्रमा हुने कार्यक्रममा पनि सकेसम्म रोक लगाइयो । यसका बाबजुद उनले रङ्गभेद र जातीय भेदभावका विरुद्धमा आवाज उठाइरहे । यसपछि उनको जीवन अझ टकराबमा बित्यो, तनाव बढ्यो । उनी झन् जुझारु भए ।
अली ब्ल्याक प्यान्थर्सको कार्यक्रममा सम्बोधन गर्न पुग्थे, लडाइँको विरुद्धमा रहेका हिप्पीहरूको संसर्गमा हुन्थे । फरक मत राख्नेहरूलाई उनले एकताबद्ध गराउँदै लगे । उनले सन् १९७० मा फेरि बक्सिङको लाइसेन्स पाए ।
यसपछि पनि अलीमाथि विभेद कायम रह्यो । कानुन व्यवसायी माइकल मेल्स्टनरका अनुसार मुस्लिम र अश्वेत भएकै कारण उनको वास्तविक पहिचान स्वीकार गर्न धेरैलाई कठिन भएको थियो ।
थुप्रै अश्वेतहरूले अमेरिकामा आफूहरूलाई युद्धको विरुद्धमा उभ्याएका थिए । भियतनाम युद्धका कारण अमेरिकाको लोकप्रियतामा ह्रास आएको थियो । युद्ध गर्नु गल्ती थियो कि भन्ने आभास श्वेतहरूलाई पनि भएको थियो ।
अलीलाई मन नपराउने जमातमा पनि भियतनाम युद्ध गलत थियो भने अनुभूति हुँदै गयो । सुरुमा अलीलाई नरुचाउनेहरू पनि उनी रिङमा फर्किएपछि उनको समर्थनमा ताली बजाउन थाले ।
सन् १९७१ को समय ह्यान्क एरोन नाम चलेका तथा संसारका पहिलो बरीयताका बास्केटबल स्टार थिए । उनी व्यावसायिक रूपमा सफल थिए ।
एक पटक एरोन पनि आश्चर्यमा पर्ने बक्सिङ भिडन्त भयो । मोहम्मद अली र जो फ्रेजियरको त्यो भिडन्तमा यति धेरै पैसाको खोलो बग्यो कि एरोनले खेल जीवनमा कमाएको भन्दा बढी पैसा त्यो एउटै भिडन्तमा अलीले पाए ।
न्यु योर्कको मेडिसिन स्क्वायरमा भएको त्यो भिडन्त ‘शताब्दी भिडन्त’ नामले परिचित छ । लामो समयको अन्तरालमा रिङमा उत्रिएका अलीको पन्चमा पुरानो पावर र गति थिएन, १५ राउन्डको सो खेलमा अन्ततः प्वाइन्टको आधारमा अली पराजित भए । यो नै उनको व्यावसायिक भिडन्तको पहिलो हार थियो । यसपछिका खेलमा जित हात पार्दै उनी फेरि विश्व च्याम्पियन भए ।
अलीले बक्सिङमा भएको पहिलो हारको तीन महिनापछि खेल जीवनकै महत्वपूर्ण जित हात पारे । उनलाई तोकिएको पाँच वर्षको कारावास सर्वोच्च अदालतले उल्टाइदियो । यसपछि उनले अदालतले न्यायको पक्षमा फैसला गर्ने विश्वास आफूलाई रहेको भन्ने प्रतिक्रिया दिए ।
अदालतको फैसलापछि पनि उनको मानसपटलमा तीन सय वर्षदेखि अश्वेतहरूले सहेको भेदभाव हराएको थिएन । उनी बारम्बार एमेट टिल्सलाई सम्झिन्थे । रोडनी किङ, ट्रेभन मार्टिन, ब्रेना टेलर र जर्ज फ्लोयड जस्ता रङ्गभेदको विरुद्धमा उभिने नामहरू सम्झन थाले ।
मोहम्मद अलीका बारेमा तयार गरिएको उक्त डकुमेन्ट्रीमा पर्फेक्ट हिरो प्रस्तुत गरिएको छैन । ग्रीक फिल्मको मान्यता, ‘हिरो इज नट परफेक्ट’ भनेझैँ उनको जीवनको नकारात्मक पाटो पनि प्रस्तुत गरिएको छ । अलीले आफ्ना चार श्रीमतीमध्ये पहिला तीन श्रीमतीमाथि अन्याय गरेको कुरा फिल्ममा छ । जो फ्राजियर लगायत प्रतिद्वन्द्वीमाथि उनी खराब बोल्थे भन्ने कुरा पनि छ ।
अलीले चौथो श्रीमतीसँग जीवन गुजारे पनि अन्य तीव वटी श्रीमतीप्रति पनि प्रेमको भाव थियो । दोस्रो श्रीमती खालिलाका अनुसार अली तीस हजार डलर लिएर घरबाट बाहिर निस्किए पनि कहिलेकाही घर फर्किंदा रित्तै हुन्थे । दुःखीलाई दिने र च्यारिटीमा धेरै सहयोग गर्ने उनको आदत थियो ।
छोरी रसिदाका अनुसार अली जति कठोर थिए, त्यति नै भावुक पनि । उनी कुरान पढ्दा धेरै पटक रोएका थिए ।
बक्सिङको रिङमा फर्किएपछि उनका दुई वटा भिडन्त अत्यन्त चर्चामा रहे । जर्ज फोरम्यानसँगको भिडन्त र जो फ्रेजरियरसँग तेस्रो भिडन्त इतिहासले सम्झने बाउटका रूपमा रहे । सन् १९८० मा ४२ वर्षको उमेरमा लेरी हेल्मेससँग पराजित भएपछि अलीको सनसनीपूर्ण यात्रा अन्त्य भयो । यसपछि ट्रेभर बर्बिकसँग एक पटक भिडेका उनी त्यसमा पनि पराजित भए ।
अली पार्किन्सन्स रोगका सिकार भए । विश्व खेलकुदले धेरै सम्झन पनि छाडेको थियो । सन् १९९६ मा अमेरिकी ओलम्पिक कमिटीले उनलाई सम्मानस्वरूप एटलान्टा ओलम्पिकमा दीप प्रज्वलन गर्न अवसर दियो ।
त्यो ओलम्पिकपछि ती सनसनीपूर्ण व्यक्ति खेलकुदको एरेनामा देखिएका छैनन् । उनको जीवनमा आधारित डकुमेन्ट्री फिल्म अहिले चर्चामा छ । यो फिल्मसँगै मानवताभन्दा ठूलो धार्मिक र जातीय सम्प्रदाय, भूगोल र राष्ट्रियता होइन भन्ने ५० वर्षअघि उनले उठाएको त्यो आवाज फेरि एक पटक विश्वले सम्झिने छ ।