विचार

कक्षा : ४, उमेर : १२ वर्ष

By सुयोग ढकाल

September 24, 2021

दाइ, पानी लिनु न !

आधा खुलेको झ्यालबाट मैले भनेँ– नाइँ नानी, चाहिँदैन ।

उनी शायद अर्को गाडीतर्फ गइन्, झ्यालबाहिरबाट त्यसै गरी सोध्नलाई ।

त्यसपछि मैले ती सानी नानीलाई प्रष्ट देखेँ, बढीमा १२ वर्ष होलिन् । पानीका बोतलहरूको झोलासहित ती नानीलाई देखेपछि किन किन मलाई त्यो पानी किनुँजस्तो लाग्यो, अन्तस्करणमा एउटा हुटहुटी लाग्यो ।

खिरिली, सानी नानी, शायद कर्तव्यको बोझले थिचिएकी होलिन् । कालो झोला, त्यसभित्र पानीका बोतलहरू, उनको उमेर र कामको नमिलेको तदात्म्य अनि मेरो कौतुहल आपसमा ठोक्किए ।

त्यस दिन सातदोबाटोको जाम अलिक छिटो खुल्यो । म अघि बढ्नु पर्ने भयो । ती नानी अनि तिनको पानी, बडो बेचैनीका साथ दिमागमा खेलिरह्यो ।

आजभोलि काठमाडौँमा ट्राफिक रोकिने संकेतहरूमा पानी, ढाड कन्याउने पातो, गाडी पुछ्ने टालो लगायतका सामान बेच्नेहरूको भिड देखिन्छ । यसका अलावा अन्य धेरै नेपाली र गैरनेपाली माग्नेहरूको पनि संख्या बढेको छ । त्यही मौकामा व्यापारको एउटा लर्को लागेको छ, कतिपयले सामान बेच्छन् अनि कतिपयले भावना ।

कोही आमाहरू काखमा छोराछोरी च्यापेर माग्दै गरेका देखिन्छन् । कोही छोराछोरी आमाबुबाका लागि मागेका जस्ता पनि देखिन्छन् । ती नानी चाहिँ फरक थिइन्, उनमा स्वाभिमान थियो । उनी माग्न होइन, पानी बेच्न ढोकामा आएकी थिइन् ।

त्यस दिन पछि म हरेक पटक सातदोबाटोमा ती नानी आउलिन् कि भनेर जाममा एक तमासको प्रतीक्षा गर्न थालेँ । फेरि भेटेँ भने उनले बोकेजति सबै पानी किनिदिन्छु र नानी तिमी स्कुल जान्नौ भनेर सोध्छु भन्ने ठानेँ । उनी धेरै दिन भेटिइनन् ।

एकदिन अलिक दिउँसै घर फर्किनुपर्ने भयो । लुभु, लामाटार पुग्न भैँसेपाटी कार्यालयबाट सातदोबाटो नपुगी हुन्न । मोटरसाइकल र बर्खाको एउटा गज्जबको तालमेल छ । मोटरसाइकलमा निस्केको दिन चाहिँ पानी नपरी छाड्दैन आजभोलि । मसिनो पानीमा रेनकोटको खबटा ओढेर निस्किएँ । सातदोबाटोमा रोकिनु परिगयो, रोकिँए ।

छेउमा रोकिएको ट्रकतिरबाट आवाज आयो– यसको सय रुपियाँ अंकल !

हेरेँ, तिनै नानी रहिछिन् । उनले त्यस दिन पानीसँगै गाडीको धुलो उडाउने कुची जस्तो सामग्री पनि बोकेकी थिइन् । समय थियो, मन थियो, म थिएँ । रोकिएँ ।

ग्वार्को चोक पुगेर बाइक घुुमाएर फेरि सातदोबाटो छेउमा पार्क गरेँ । नानीलाई छेउमा बोलाएँ, केही कुरा गर्न थालेँ । एकैछिन पख है नानु, म उताबाट फर्केर आउँछु, कतै नजाऊ भनेँको थिएँ, उनी त्यहीँ भेटिइन् ।

नानीको नाम रहेछ काजल तामाङ ।

दुई महिना भयो रे, यहाँ सामान बेच्न थालेको चार कक्षामा पढ्दिरहिछिन् तर अहिले स्कुल बन्द रहेछ । उनकी आमा यहाँ पानी बेच्नुहुन्थ्यो रे । अहिले मकैको सिजन आएपछि आमाले मकै पोलेर बेच्न थाल्नुभयो । काजलले आमाको ठाँउ सम्हालिन् ।

साल्ट ट्रेडिङको नामको झोला रहेछ । त्यो कालो झोलामा लेखिएका सबै जसो अक्षर मेटिँदै गएर मुश्किलले पढ्न सकिने भएछन् । रङ उडेको थियो ।

म अक्क न बक्क परेँ, अब के सोध्ने ! कतै मैले काजलको व्यापार हुने समय त खेर फालिदिएको छैन ! कुरा कताबाट सुरु गरूँ !

नानी ! एक बोतल पानी देऊ त !

उनले पानी दिइन् । मैले ५० रुपैयाँ दिएँ ।

उनले २५ रुपैयाँ फिर्ता दिइन् । मैले लिएँ । काजल स्वाभिमानको पाठ सिक्दैछिन्, मैले उनीभित्र अनुदानको प्रदूषण भित्र्याउन हुन्न भन्ने ठानेँ । मान्छे र देश एउटै हो भन्ने मेरो ठम्याइ छ । अनुदान र सहयोगमा बानी परेपछि स्वाभिमान चियामा बिस्कुट घोलिएझैँ घुल्छ र अस्तित्व नामेट हुन्छ ।

मैले अनेक यात्रामा धेरै बोतल पानी किनेँ तर कुनै पनि बोलत सम्हालेर राखिँन । राख्नु पर्ने ठानिनँ । काजलसँग किनेको पानीको बोतल सम्हालेर राखेँ ।

मैले काजल एभरेस्ट जस्तै ठानेँ । एभरेस्ट चाहिँ हाम्री परिकल्पनाकी पात्र, मैले एभरेस्टका लागि धेरै कुराहरू लेखेको छु । नेपालमा पोषणको महत्व र आवश्यकता बुझाउन कार्यरत एउटा गैरसरकारी संस्था बलियो नेपालका लागि सञ्चार सामग्री परिकल्पना, लेखन, विकास र विस्तारका लागि म क्रियाशील छु ।

यस क्रममा नेपालले अबको २० वर्षपछि क्रिकेटको विश्वकप जित्नेछ भन्ने परिकल्पना गरेर उक्त राष्ट्रिय क्रिकेट टिमकी कप्तानका रूपमा एभरेस्ट पात्रको परिकल्पना गरेँ ।

सन् २०३९ को परिदृश्यमा एभरेस्ट र उनको बलियो टिमको कथाहरू लेखेर रेडियोमा धारावाहिक प्रसारण भयो ।

पोहोर सालको कुरा हो, बेनवासँग फोनमा कुरा हुँदा उनले एभरेस्टलाई कस्तो पात्रका रूपमा देख्छौ भनेर सोधेका थिए । बेनवा बलियो नेपालका सञ्चार सामग्री उत्पादन गर्न विदेशी परामर्शदाता हुन्, फ्रान्समा बस्छन् । उनीसँग मैले अनेक पटक बात मारेको छु । मैले एभरेस्ट बलियो छिन्, उनी निडर छिन्, उनी आत्मविश्वासी छिन् र उनी बुद्धिमान् छिन् भनेको थिएँ ।

काजल सहानुभूतिकी पात्र होइनन् । उनको उमेरका धेरै नानीहरूलाई आमाबुबाले घरमा ‘को खाई को खाई’भन्दै गाँस गनेर खुवाइरहेका होलान् । सडकमा पानी र पोलेको मकैको व्यापारको कुरा ती धेरै नानीहरूलाई के थाहा !

काजललाई मैले साक्षात एभरेस्ट नै देखेँ । शुक्रबार बेनवासँग बात मार्नु छ, काजलका बारेमा पनि भन्छु समय लिएर ।

काजल निडर छिन् । हक्की छिन् । उनमा आत्मविश्वास छ । काजलजस्ता बहिनीहरू धेरै छन् । उनीहरूले राम्रो वातावरण र अवसर पाए भने भोलि नेपालले धेरै प्रतियोगिताहरू जित्नेछ ।

म छेउमा बसेर हेरिरहेँ । सातदोबाटोको जाममा गाडीहरू रोकिएपछि किनाराबाट आआफ्ना सामान बोकेर दौडिनेहरूको लर्को लाग्यो । एक जना दिदी दुधे बालकलाई छातीमा चेपेर गाडीमा माग्ने रहिछिन्, नेपाली बोल्न नआउने । सडकछेउमा आजभोलि भावना र सामान दुबै बिक्छन् ।

काजल सहानुभूतिकी पात्र होइनन्, हामी सबैले गर्व गर्न सक्ने पात्र हुन् । उनको उमेरका धेरै नानीहरूलाई आमाबुबाले घरमा ‘को खाई को खाई’ भन्दै गाँस गनेर खुवाइरहेका होलान् । सडकमा पानी र मकैको व्यापारको कुरा ती धेरै नानीहरूलाई के थाहा !

काजल एउटा ज्वलन्त नायिका भइन् मेरा लागि । उनी मैले देखेको सबैभन्दा सानो उमेरकी उद्यमी हुन् । मैले काजलबाट धेरै कुरा सिकेँ, उनको श्रम र अठोटबाट प्रभावित भएँ । आजकाल उनीसँग बाक्लै भेट हुन्छ । अब असोज १२ गतेदेखि उनको स्कुल पनि लाग्छ क्यारे ! यसपछि उनीसँग हम्मेसी भेट नहुन सक्छ । काजलका बारे आज यति लेखेर आफूलाई धन्य ठानेको छु ।