फाइल फोटो

राजनीति

कांग्रेसले १३ जिल्लाको क्रियाशील सदस्यता विवाद आज टुङ्ग्याउने

By खबरहब

September 24, 2021

काठमाडौँ– महाधिवेशनमा होमिएको सत्तारुढ दल नेपाली कांग्रेसले १३ जिल्लाको क्रियाशील सदस्यता विवाद शुक्रबार टुङ्ग्याउने भएको छ । शुक्रबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले क्रियाशील सदसयता विवाद शुक्रबार टुङ्ग्याउने सहमति गरेको सहमहामन्त्री डा. प्रकाशसरण महतले जानकारी दिए ।

पदाधिकारी बैठकपछि बैठकबारे जानकारी दिँदै उनले वडा अधिवेशन सम्पन्न भएका जिल्लामा शनिबार स्थानीय तहको अधिवेशन हुनेसमेत जानकारी दिए । उनले क्रियाशील सदस्यताका कारण वडा अधिवेशन हुन नसकेको जिल्लाको वडा अधिवेशनबारे निर्णय भने नभएको उनले बताए । उनले क्रियाशील सदस्यता टुङ्गिएपछि आवश्यकता अनुसार निर्वाचन समितिले वडा अधिवेशनको मिति तोक्ने जनाए ।

महाधिवेशन तोकिएको मितिमा नहुने सम्भावना बढिरहेका बेला महाधिवेशनको कार्यतालिका परिवर्तन हुनसक्ने महामन्त्री डा. महतले बताए । उनले भने, ‘दशैँ अगाडि १८ वटा हिमाली जिल्लाकोमात्र अधिवेशन सम्पन्न गर्ने कुरा भएको छ । बाँकी जिल्लाको अधिवेशन दशैँ–तिहारपछि जाने देखिएको छ । यसले कहाँ कति प्रभाव पर्छ, कति समय आवश्यक हुन्छ । सोही अनुसार मिति परिवर्तन हुन्छ ।’

असोज ५ सम्म देशका सम्पूर्ण वडाको वडा अधिवेशन सक्नुपर्ने कार्यतालिका भए पनि अझै १३ जिल्लामा वडा अधिवेशन भएको छैन ।

जसका कारण असोज ९ गते शनिबार ७५३ वटै स्थानीय तहको अधिवेशन पनि नहुने भएको छ । ती १३ जिल्लाको वडा अधिवेशन कहिले हुन्छ भन्ने टुङ्गो नभएकाले बाँकी स्थानीय तह अधिवेशनको पनि मिति निश्चित छैन । जसका कारण प्रदेश निर्वाचन क्षेत्र अधिवेशन, संघीय निर्वाचन क्षेत्र अधिवेशन, जिल्ला अधिवेशन, प्रदेश अधिवेशन र महाधिवेशनको मिति परिवर्तन हुने सम्भावना बढेको छ ।