क्रिकेट

टी–ट्वान्टी विश्वकपमा इंग्ल्यान्डको विजयी शुरूवात

By खबरहब

October 24, 2021

काठमाडौँ- आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा इंग्ल्यान्डले विजयी शुरूवात गरेको छ ।

दुबईमा शनिबार राति भएको खेलमा साविक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले हराउदै इंग्ल्यान्डले विजयी शुरूवात गरेको हो ।

इंग्ल्यान्डले टी-ट्वान्टी विश्वकपमा वेस्ट इन्डिजलाई हराएको यो पहिलो पटक हो ।

वेस्ट इन्डिजले दिएको ५६ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले ८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

इंग्ल्यान्डको जितमा जोस बट्लरले अविजित रहदै २४ रन बनाए । कप्तान इयान मोर्गन ७ रनमा अविजित रहे ।

मोइन अली ३ र लियाम लिभिङस्टोन १ रनमा आउट भए । वेस्ट इन्डिजका अकिल होसेनले २ तथा रभी रामपालले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले १४ ओभर २ बलमा अलआउट हुँदै ५५ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि क्रिस गेलले सर्वाधिक १३ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।