अन्तर्राष्ट्रिय

उज्वेकिस्तानमा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै

By खबरहब

October 24, 2021

एजेन्सी- उज्वेकिस्तानमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुन हुँदैछ ।

वर्तमान राष्ट्रपति शाभ्कात मिजियोयेभ पनि आफ्नो कार्यकाल फेरि दोहोर्‍याउने लक्ष्यका साथ चुनावी प्रतिस्पर्धामा छन् । उनले पहिलो कार्यकाल सकेर दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् ।

मिर्जियोयेभले सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीबाट उम्मेदवारी दिएका हुन् । उनलाई चुनौती दिदै नेस्नल रिभिभाल डेमोक्रेटिक पार्टीका अलिशेर काडिरोभ, पिपल्स डेमोक्रेटिक पार्टीका मक्सुदा भारिसोभ, जस्टीस सोसल डेमोक्रेटिक पार्टीका बाह्रोम अब्दुलिमोभ र इकोलोजी पार्टीका नार्जुलो अब्लोमुरोडोभले पनि उम्मेदवारी दिएका छन् ।

प्रारम्भीक मत सर्वेक्षणहरुले वर्तमान राष्ट्रपति मिर्जियोयेभले नै फेरि कार्यकाल दोहोर्‍याउने सम्भावना रहेको देखाएका छन् ।

निर्वाचनका लागि एक करोड ९० लाख मतदाताले मतदान गर्न पाउने निर्वाचन आयोगले शनिबार जानकारी दिएको छ ।

निर्वाचनको सुपरीवेक्षण गर्न ९७० भन्दाबढी अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु आइसकेको पनि आयोगले जनाएको छ । त्यसैगरी एक हजारभन्दा बढी पत्रकारहरुले पनि मतदानलाई नजिकबाट नियालेर समाचार सम्प्रेषण गर्न सक्ने व्यवस्था गरिएको आयोगको अधिकारीहरुको भनाइ छ ।