अमेरिकाले टाउकोको मूल्य ५० लाख डलर तोकेका कोलम्बियाली तस्कर पक्राउ

By खबरहब

October 24, 2021

न्युयोर्क– कोलम्बियामा सर्वाधिक खोजिएका लागूऔषध तस्कर तथा देशकै सबैभन्दा ठूलो आपराधिक समूहका नायिके पक्राउ परेका छन् । सेना, हवाई फौज र प्रहरीको संयुक्त कारबाहीमा ओटोनियल भनिने डेरो एन्टोनियो युसुगा पक्राउ परेका हुन् ।

ओटोनियलका बारेमा सूचना दिने व्यक्तिलाई कोलम्बियाले आठ लाख अमेरिकी डलर घोषणा गरेको थियो । त्यस्तै, अमेरिकाले उनको टाउकोको मूल्य ५० लाख अमेरिकी डलर तोकेको थियो ।

एउटा टेलिभिजन अन्तर्वार्तामा कोलम्बियाका राष्ट्रपति इभान ड्युकले उनको पक्राउबाट आफू खुसी भएको बताए । ‘उनको पक्राउले देशमा लागूऔषध तस्करलाई ठूलो झड्का दिएको छ,’ उनले भने ।

ओटोनियल उत्तरपश्चिम प्रान्तको एउटा ग्रामीण क्षेत्रबाट पक्राउ परेका थिए । उनी लुकेको क्षेत्र पानामासँगको सीमा जोडिएको छ ।

उनीविरुद्धको कारबाहीमा एक प्रहरी अधिकारी मारिएको जनाइएको छ । ओटोनियललाई हथकडी लगाएर सुरक्षा प्रदान गरेको एउटा तस्विर कोलम्बियाली सेनाको फौजले सार्वजनिक गरेको छ । ५० वर्षीय ओटोनियललाई पक्राउ गर्न त्यहाँको सेनाले अनेकौं ठूला कारबाही चलाएको थियो ।