सांकेतिक तस्वीर

इनसाइट/स्पेशल

मकालु बेस क्याम्पमा एक डेनिस नागरिकको मृत्यु

By खबरहब

October 24, 2021

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–२ मकालु बेस क्याम्पमा एक जना विदेशी पर्यटकको मृत्यु भएको छ । मकालु बेस क्याम्पमा डेनमार्कका हेन्रिक थोर्वजन एडर्शनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।

विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणका लागि उनी बेस क्याम्प पुगेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले पुष्टि गरेको छ । प्रहरी निरीक्षक अधिकारीका अनुसार थोर्वजन एडर्शनको मकालु बेस क्याम्पभन्दा केहीमाथि शनिबार दिउँसो मृत्यु भएको हो ।

गत असोज २५ गते तीन विदेशी पर्यटक सहित १० जनाको टोली ताप्लेजुङ हुँदै मकालु आधार शिविर गएको थियो ।

मकालु बेस क्याम्पमा फसेका दुई विदेश पर्यटक र एक नेपालीको सकुशल उद्धार गरिएको छ । आइबार दिउँसो दुई जना डेनिस नागरिक र एक जना नेपालीको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ ।

मकालु बेस क्याम्पमा हिउँमा फसेका अन्य ६ जना नेपाली नागरिकको उद्धारको पहल भइरहेको उद्धारमार्फत काठमाडौँ पुगेका नीरज कार्कीले बताए । कार्कीका अनुसार ६ नेपाली नागरिक र मृतक डेनमार्कका हेन्रिक थोर्वजन एडर्शनको शव मकालु बेस क्याम्पमै छ ।