स्टोरी

ओमिक्रोन भेरियन्टको जोखिम, चिकित्सकहरू भन्छन्– डेल्टाभन्दा कम घातक

By मनोज घिमिरे

December 24, 2021

काठमाडौँ– ओमिक्रोन भेरियन्टको कोरोना भाइरस सम्बन्धी थप तथ्य फेला परेको छ । यसै तथ्यअनुसार यो भाइरस बढी सङ्क्रामक भए पनि त्यस अनुसारको घातक भने छैन । यसअघि फेला परेको तथा अहिले संसारमा सबैभन्दा धेरै हाबी भइरहेको डेल्टा भेरियन्टभन्दा ओम्रिकानबाट अस्पताल नै भर्ना हुनुपर्ने सम्भावना धेरै कम भएको विभिन्न अनुसन्धानले देखाएका छन् ।

बेलायतको युनिभर्सिटी अफ इडिनबर्गमा अनुसन्धान गरिएर तयार पारिएको एक प्रतिवेदन बुधवार अनलाइनमार्फत सार्वजनिक भएको हो । यो प्रतिवेदन अनुसार डेल्टाको तुलनामा ओमिक्रोनबाट गम्भीर लक्षण देखिने र अस्पताल नै भर्ना हुनपर्ने सम्भावना दुई तिहाइले कम छ । यो रिपोर्टमा स्कटल्यान्डमा आधारित भएर गरिएको अध्ययनको आधारमा तयार गरिएको हो ।

मङ्गलवार नै एक अनलाइनमा प्रकाशित रिपोर्टअनुसार ओमिक्रोनबाट सङ्क्रमित हुनेको डेल्टाबाट भन्दा ८० प्रतिशत कम अस्पताल भर्ना हुने सम्भावना हुन्छ । दक्षिण अफ्रिकामा गरिएको एक अध्ययनअनुसार एकपटक अस्पताल भर्ना भइसकेकाहरूमा फेरि अस्पताल हुनुपर्ने सम्भावना बराबर नै रहन्छ । यी दुवै प्रारम्भिक डाटा हुन् । यिनीहरूको पीयर रिभ्यु जर्नलमा प्रकाशित भएका छैनन् ।

स्कटल्यान्डमा नोभेम्बर १ देखि डिसेम्बर १९ का बीचमा २३ हजार ८४० ओमिक्रोन तथा १ लाख २६ हजार ५११ डेल्टा केशलाई आधार मानेर यो अध्ययन गरिएको हो । युनिभर्सिटी अफ इडिनबर्ग, युनिभर्सिटी अफ स्क्र्याथ क्लाइड र पब्लिक हेल्थ स्कटल्यान्डका अनुसन्धानकर्ताहरुले ओमिक्रोन सङ्क्रमितको स्वास्थ्य अवस्थालाई निगरानीपूर्वक हेरेर डेल्टा सङ्क्रमितसँग तुलना गरेर यो रिपोर्ट तयार पारिएको हो । निगरानीपूर्वक हेरिएकामध्ये ओम्रिकान सङ्क्रमित १५ जना तथा डेल्टा सङ्क्रमित ८ सय ५६ जना अस्पताल भर्ना भएका थिए ।

‘यो अध्ययन सानो सङ्ख्यामा भए पनि राम्रो समाचार हो । डेल्टाको तुलनामा दुई डोज भ्याक्सिन लगाएका युवामा डेल्टा भेरियन्ट भन्दा अस्पताल भर्ना हुनुपर्ने अवस्था दुई तिहाइले कमी आउनु भनेको अन्यको हकमा पनि यो लागु हुनु हो,’ रासालीन फ्रान्कलिन इन्स्टिच्युटका निर्देशक तथा अक्सफोर्ड विश्व विद्यालयमा स्ट्रक्चरल बायोलोजीका प्राध्यापक जेम्स नाइस्मिथले बताएका छन् । यस अध्ययनमा सामेल नभए पनि बेलायतका विज्ञान मिडिया सेन्टरमा बुधवार वितरित विज्ञप्तिमा  उनले सो कुरा उल्लेख गरेका हुन् ।

‘यो रिपोर्ट महत्त्वपूर्ण हो । तर, सबै कुरा भन्न हतार हुन सक्छ । (यो साता आउने थुप्रै रिपोर्ट र डाटाको आधारमा यो तथ्याङ्कमा केही फरक आउन सक्नेछ) दक्षिण अफ्रिकी वैज्ञानिकहरूले ओमिक्रोन केही समयका लागि कमजोर हुन्छ भनेको कुरामा पनि ध्यान दिन आवश्यक हुन्छ,’ नाइस्मिथले भनेका छन्, ‘दुई तिहाइको कमी महत्त्वपूर्ण भए पनि दुई डोज भ्याक्सिन लगाएकाहरूमा पनि ओम्रिकानले गम्भीर लक्षण देखिन सक्छ । यसरी प्रत्येक केही दिनमा सङ्क्रमितको सङ्ख्या दुई गुना हुँदै गएमा यसले डेल्टा भेरियन्टले भन्दा धेरैलाई अस्पताल लैजान सक्छ । ’

अनुसन्धानकर्ताहरुले पत्ता लगाएअनुसार पहिले सङ्क्रमित भइसकेकाहरूमा फेरि सङ्क्रमणको जोखिम डेल्टाको भन्दा ओमिक्रोनको १० गुणा बढी छ । दोस्रो डोज लगाएको २५ साता पछि तेस्रो डोज लगाएकाहरूमा बुस्टर डोजले लक्षण सहितको सङ्क्रमणमा ५७ प्रतिशतले कमी ल्याउन सक्छ ।

‘यी शुरुवाती डाटाकै आधारमा डेल्टाले भन्दा ओमिक्रोनले अस्पताल भर्ना हुनुपर्ने अवस्थामा दुई तिहाइले कमी ल्याउनको मतलब तेस्रो डोजले ओमिक्रोनबाट लक्षणसहितको कोरोनाको सम्भावनालाई कमी गर्न सकिन्छ,’ अनुसन्धानकर्ताहरुले सो पेपरमा उल्लेख गरेका छन् ।

दक्षिण अफ्रिकामा १ अक्टोबरदेखि ६ डिसेम्बरसम्मको समय सीमालाई आधार मानेर १ लाख ६१ हजार ३२८ जनाको अध्ययन गरिएको थियो । नेशनल इन्स्टिच्युट अफ कमनिकेबल डिजिज, युनिभर्सिटी अफ विट वाटर स्ट्यान्ड र युनिभर्सिटी अप केप टाउनका अनुसन्धानकर्ताहरुले त्यस अवधिमा २.५ प्रतिशत ओमिक्रोन सङ्क्रमित अस्पताल भर्ना भएको भेट्टाए भने डेल्टाका सङ्क्रमित १२.८ प्रतिशत सङ्क्रमित भएका थिए  । अनुसन्धानकर्ताहरुले पेपरमा लेखेका छन् कि,‘ यो शुरुवाती डाटा हो । महामारी बढ्दै नयाँ थाहा लाग्न पनि सक्छ ।’

युएस नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजका निर्देशक डा. एन्थोनी फाउसीले बुधवार ह्वाइट हाउसमा दक्षिण अफ्रिका र स्कटल्यान्डबाट प्राप्त डाटाबारे बताउँदै यसको थप अध्ययन गर्न आवश्यक रहेको र अमेरिकामा पनि यसै नतिजा आउँछ या आउँदैन भनेर ध्यानपूर्वक हेर्नुपर्नेमा जोड दिएका छन् ।

‘साँच्चै दक्षिण अफ्रिकामा डेल्टाको तुलनामा कम घातक पाइएको छ । अस्पताल भर्ना हुने सवालमा, अस्पतालमा बस्ने समय अवधिको रूपमा र अक्सिजन दिनुपर्ने अवस्था यी सबैमा डेल्टा भन्दा ओमिक्रोन कम घातक हो’ फाउसीले भने, ‘यो राम्रो हो, तर हामीले यो हाम्रै भूगोल र हाम्रै बासिन्दामा पनि हेर्नुपर्ने हुन्छ, भौगोलिक विविधता अनुसार केही फरक पनि हुन सक्छ ।’

इम्पेरियल कलेज कोभिड–१९ रेस्पोन्स टिमले बुधवार सार्वजनिक गरेको रिपोर्ट अनुसार डेल्टाको तुलनामा ओमिक्रोनका कारण अस्पताल भर्ना हुनुपर्ने अवस्थामा मध्यम मात्रामा कमी देखिएको छ ।

डिसेम्बर एकदेखि १४ को बीचमा इङ्गल्यान्डका सबै पीसीआर  सार्स कोभिड २ सङ्क्रमितको आधारमा यो अध्ययन भएको हो । इम्पेरियल कलेज, जिमल इन्स्टिच्युट, सेन्टर फर इन्फेक्सिसयस डिजिज मोडलींग र एमआरसी सेन्टर फर ग्लोबल इन्फेक्सियस डिजिजलाई विश्व स्वास्थ्य सङ्गठनले एकत्रित गराउँदै यो अध्ययन अघि बढाइएको हो ।

‘यो अध्ययनअनुसार ओमिक्रोनका कारण एक या सो भन्दा बढी दिन अस्पताल बस्नुपर्ने सम्भावना ४० देखि ५० प्रतिशत कम छ । यो अध्ययन समयको सम्पूर्ण डाटाको औसत निकाल्दा डेल्टाको भन्दा ओमिक्रोनको कारण अस्पतालमा भर्ना हुनुपर्ने अवस्थामा एकदमै कमी आएको थाहा पाएका प्रमाण फेला पारेका छौँ,’ रिपोर्टमा उल्लेख छ ।

‘बेलायतमा अहिले प्राकृतिक सङ्क्रमण र भ्याक्सिनका कारण देखिएको सुरक्षाका बावजूद सङ्क्रमण बढिरहेको समयमा अस्पताल भर्ना हुनुपर्ने बिरामीको दरमा देखिएको कमीले केही सन्तुलन ल्याएको छ,’ रिपोर्टमा थप उल्लेख गरिएको छ ‘सङ्ख्याका आधारमा हेर्ने हो भने अझै पनि धेरै मात्राको सङ्क्रमणको मतलब धेरै मात्रामा अस्पताल भर्ना हुन सक्ने छ ।’

यो अध्ययनअनुसार पहिले सङ्क्रमित भइसकेको प्रमाण भएकामा ओमिक्रोन भेरियन्टको सङ्क्रमणका कारण अस्पताल भर्ना हुनुपर्ने सम्भावना ५० देखि ६० प्रतिशतले कमी आएको छ ।

पहिले सङ्क्रमित भइ नसकेका तथा दुई डोज भ्याक्सिन लगाइसकेका हकमा भने डेल्टा  ओमिक्रोनका धेरै कुरामा समानता देखिएका छन् ।  समानता अस्पताल भर्ना हुनुपर्ने अवस्था आउने तथा गम्भीर लक्षण देखिनुमा नै हो ।

जे होस्, भ्याक्सिन लगाएकाहरूमा अस्पताल भर्ना हुनु पर्ने जोखिम कमी नै हुन्छ । अहिले पिर रिभ्यु जर्नलमा प्रकाशित नगरिएको रिपोर्टमा उल्लेख गरिएको छ । यो अध्ययनमा संलग्न नभएको नाइस्मिथले बुधवार मिडिया सेन्टरमा बोल्दै भने, ‘यो अध्ययनले पत्ता लागेको छ कि, पहिलो सङ्क्रमण भइसकेकामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण भए अस्पताल भर्ना हुने सम्भावना दुई तिहाइले कमी हुन्छ । शरीरमा केही इम्युनिटी भएमा ओमिक्रोन सामान्य नै हुन्छ ।

नाइस्मिथले दुई डोज लगाएकाहरूमा ओमिक्रोन डेल्टाभन्दा कम घातक नहुने बताएका छन् । उनले यसलाई आश्चर्यजनक रिपोर्ट भने पनि बुस्टर डोजको प्रभाव कत्तिको  हुन्छ भनेर भनेका छैनन् ।

कोभिड १९ का बारे केही सकारात्मक तथ्य फेला परे पनि गम्भीर चासोको विषय अझै बाँकी नै छन् । अहिले बेलायतमा दैनिक १ लाख भन्दा बढी व्यक्ति सङ्क्रमित भई  रहेका छन् । स्कटल्यान्ड पब्लिक हेल्थका इन्सिडेन्ट निर्देशक जिम म्याकमोनमीनले पछिल्लो अध्ययन सुखद समाचार भए पनि सङ्क्रमण दर एकदमै धेरै भएका कारण अझे धेरै विषयमा गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।

यी सबै रिपोर्टका बावजूद नराम्रा रिपोर्ट पनि देखिएका छन् । युनिभर्सिटी अफ हङकङको एक रिपोर्ट अनुसार यो भेरियन्टको असर फोक्सोको गहिराइमा पनि पुग्न सक्नेछ । त्यो भएमा यसले धेरै क्षति गर्न सक्ने छ । क्याम्ब्रिज विश्वविद्यालयको एक रिपोर्ट अनुसार बारम्बार फोक्सोको बिरामी हुनेलाई  पनि ओमिक्रोन राम्रोसँग काम गर्न अवरोध गर्छ ।

इम्पिरीयल कलेजका सरुवा रोग विशेषज्ञहरूले अहिले नै यो भाइरसलाई सामान्य फ्लु ठान्नु भने गम्भीर गल्ती हुन सक्ने चेतावनी दिन्छन् ।

संसारमा यो साता प्राप्त तथ्याङ्कको आधारमा भन्न मिल्ने आधार के हो भने ओमिक्रोन अत्यन्त सङ्क्रामक र कम घातक हो । डेल्टाको तुलनामा  कम घातक भए पनि धेरै सङ्क्रामक भएका कारण हेलचेक्र्याइँ गरेमा स्वास्थ्य संयन्त्रमा छोटो समयमा नै असर गर्न सक्नेछ ।