समाचार

न्यायपरिषद्को कमजोरीले जन्म मिति फरक देखियो : न्यायाधीश खड्का

By खबरहब

December 24, 2021

काठमाडौँ- सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काले न्यायपरिषद्को त्रुटिवशले आफ्नो जन्म मिति फरक देखिएको प्रष्टीकरण दिएकी छन् ।

सोमबार विज्ञप्ति जारी गर्दै खड्काले आफूले एउटा मात्र नागरिकता लिएको र आफ्नो जन्ममिति २०१४/२/२ नै भएको दाबी गरेकी छन् ।

२८ माघ २०३३ मा जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकतामा उमेर १९ वर्ष भए पनि सम्पूर्ण शैक्षिक प्रमाणपत्र तथा अरू कागजातमा जम्ममिति २०१४/२/२ नै कायम रहेको उनले बताएकी छन् ।

न्याय परिषद् प्रकाशित गर्ने बुलेटिनमा केही वर्ष त्रुटिवश आफ्नो जन्ममिति २०१३/१०/२८ उल्लेख भए पनि त्यसलाई परिषद्ले नै सच्याएको उनको भनाइ छ । उनले आफ्नो जन्ममिति संशय वा भ्रममा नपार्न पर्न अपील गरेकी छन् ।

‘परिषद् आफैंले त्रुटी सच्याई २०७१ देखि २०७८ साल पौष ३ गतेसम्म प्रकाशित न्याय परिषद् बुलेटिनहरुमा मेरो वास्तविक जन्ममिति २०१४/२/२ भनी उल्लेख गरिएकाले मेरो जन्ममिति सम्बन्धमा कुनै प्रकारको संशय वा भ्रम रहनु पर्ने कारण छैन,’ खड्काले विज्ञप्तिमा भनेकी छन् ।