अन्तर्राष्ट्रिय

अमेरिकासँग सम्झौता गर्दै क्यानडाबाट रिहा भइन् मेङ

By खबरहब

September 25, 2021

चिनियाँ कम्पनी हुवावेकी प्रमुख वित्त अधिकारी मेङ वान्झोउ प्रक्राउमुक्त भएसँगै स्वदेश प्रस्थान गरेकी छन् ।

अमेरिकाले लगाएको छलीको आरोपमा उनलाई सन् २०१८ को डिसेम्बरमा क्यानडामा पक्राउ गरिएको थियो । अमेरिकासँग सम्झौता गरेर मेङ क्यानडाको डिटेन्सनबाट रिहा भएकी हुन् ।

उनी एअर चाइनाको उडानमार्फत चीनको शेन्झेङ सहर प्रस्थान गरेको समाचार संस्था एएफपीले जनाएको छ । त्यसक्रममा मेङले भनिन्, ‘मेरो जीवनमा उतारचढाव आयो । यो समय मेरा लागि अति नै खराब थियो ।’

मेङलाई पक्राउ गरेपछि चीनले बदलास्वरुप क्यानडियन नागरिकलाई बन्धक बनाएको थियो । मेङ छुटेसँगै चीनले पनि बन्धक बनाएका दुई नागरिकलाई स्वतन्त्र गरेको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले चिनियाँ डिटेन्सनबाट स्वतन्त्र भएका माइकल स्पेरभ र माइकल कोवरिग स्वदेश फर्किने क्रममा रहेको जानकारी दिएका हुन् ।

मेङ पक्राउ परेपछि चीनको अमेरिका र क्यानडासँग कूटनीतिक तनाव उत्पन्न भएको थियो ।