फाइल फोटो

राजनीति

जसपा गुटैगुटको पार्टी हो : ठाकुर

By खबरहब

September 25, 2021

जनकपुरधाम– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले जनता समाजवादी पार्टी विभिन्न गुटउपगुटको पार्टी रहेको आरोप लगाएका छन् ।

पार्टीको कार्यविशेषले शनिवार जनकपुरधाम पुगेका महन्थ ठाकुरले लोसपामा गुटउपगुट रहेको आरोप निराधार रहेको भन्दै जसपामा नै गुट उपगुट रहेको टिप्पणी गरे । उनले लोसपालाई सानो गुट भन्नेहरुलाई पहिले आफ्नो घरमा नियाल्न सुझाव दिए ।

अध्यक्ष ठाकुरले एमसीसीलाई अहिले हौवा बनाएको बताउँदै एमसीसी संसदमा आएपछि मात्र आफनो पार्टीको आधिकारिक धारणा बनाउने बताए । यद्यपी उनले आफूहरु एमसीसीको विरोधमा नरहेको उल्लेख गरे । उनले सरकारमा सहभागी हुने बिषयमा कुनै छलफल नभएको बताए ।

आइतबार बिहान ११ बजेका लागि डाकिएको लोसपा प्रदेश २ संसदीय दलको बैठकमा सहभागी हुन अध्यक्ष ठाकुर जनकपुरधाम पुगेका हुन् । ठाकुरको प्रमुख आतिथ्यमा हुने उक्त बैठकबाट संसदीय दलको नेता चयन गरिने बताइएको छ । जनता समाजवादी पार्टी (जसपा)का ५५ सांसदमध्ये १६ सांसद लोसपा रोजेका छन् । जसमध्ये चार सांसद दलका नेताको आकांक्षी छन् ।