राजनीति

एमालेमा कार्यकारी पदमा दुईपटकमात्र बस्न पाइने व्यवस्था गर्न सुझाब

By खबरहब

September 25, 2021

काठमाडौँ– नेकपा एमालेमा कार्यकारी पदमा दुई पटकमात्र बस्न पाइने व्यवस्था गर्न सुझाब दिइएको छ । शनिबार जारी एमालेको केन्द्रीय कमिटी बैठकमा सुझाब पेश गर्न बनाइएका १० वटै समूहले सझाब पेश गरेका छन् । उनीहरुले यस्तो सुझाव दिएका हुन् ।

यस्तै पदाधिकारीको संख्या बढाउन पनि सुझाब दिइएको छ । उपाध्यक्ष र सचिबको संख्या ७–७ राख्न समूहबाट सुझाब आएको एक नेताले जानकारी दिए ।

केन्द्रीय कमिटीमा प्रस्तुत गरिएका राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन मस्यौदामाथि सुझाब पेश गर्न १० वटा समूह बनाइएको थियो । ती सबै समूहले ७ जना उपाध्यक्ष राख्न सुझाब दिएका हुन् ।

उपमहासचिब विष्णु पौडेलले पेश गरेको विधान मस्यौदामा ३ जना उपाध्यक्ष राख्ने प्रस्ताव गरिएको थियो । समूहबाट प्राप्त सुझाब समेटेर तीनवटै प्रतिवेदनहरु शनिबारै पारित गर्ने तयारी छ ।