खेलकुद

ला लिगा : बार्सिलोनालाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा

By खबरहब

October 25, 2021

काठमाडौँ – स्पेनिस ला लिगाको यस सिजनको पहिलो एल क्लासिकोमा रियल मड्रिड विजयी भएको छ । आइतबार बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा रियलले बार्सिलोनालाई २–१ गोल अन्तरले पराजित गर्दै ला लिगाको शीर्षस्थानमा उक्लिएको हो ।

रियलको जितमा डेभिड अलावा र लुकास भास्क्वेइजले एकरएक गोल गरे । घरेलु टोली बार्सिलोनाको लागि सर्जियो अग्वुईरोले सान्त्वना गोल गरे । खेलको ३२ मिनेटमा अलावाले रियललाई अग्रता दिलाए । उनले काउण्टरमा बक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।

दोस्रो गोल ९० मिनेटपछि थपिएको ७ मिनेटमा सम्भव भएको थियो । काउण्टर बलमा लुकास भास्क्वेइजले गोल गरे । उनले सिक्स यार्ड बक्सबाट गोल गर्दै रियललाई २–० को अग्रता बनाए ।

बार्सिलोनाको लागि सर्जियो अग्वुइरोले सान्त्वना गोल गरे । सर्जियो डेस्टको पासमा सिक्स यार्ड बाक्सबाट सहज गोल गरे । जितसँगै रियल ९ खेलबाट २० अंक सहित शीर्षस्थानमा उक्लिएको छ ।

समान २० अंक भएपनि सेभिल्ला दोस्रो स्थानमा छ । पराजित बार्सिलोना भने ९ खेलबाट १५ अंकसहित आठौं स्थानमा यथावत छ ।