देश/प्रदेश

पाँचथरमा बस दुर्घटना हुँदा ५४ यात्रु घाइते

By खबरहब

October 25, 2021

पाँचथर – बस दुर्घटना हुँदा पाँचथरमा ५४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये केही यात्रुको अवस्था चिन्ताजनक छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार फिदिम नगरपालिका–४ सिवादोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस शान्तिपुरमा अर्को सवारीको साधनलाई उछिन्न सडकको डिलबाट अगाडि बढ्दा करिब २० मिटर तल खोँचमा झरेको हो ।

दुर्घटनामा बसमा सवार सबै यात्रु घाइते भएकाले तिनलाई उद्धार गरी पाँचथरको जिल्ला अस्पतालसहित अन्य मेडिकलमा प्रारम्भिक उपचार गराइएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये १० यात्रुको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि झापा पठाउने तयारी भइरहेको छ । दसैँमा घर तथा आफन्तकहाँ पुगी फर्कंदै गरेको जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका वासिन्दा दुर्घटनामा परेका हुन् ।

कुम्मायकको यासोक बजारलाई फिदिमसम्म जोड्ने निवुखोलास्थित पुलको भाग भत्केपछि यात्रु ट्याक्सीबाट खोलासम्म पुगेर बस चढेका थिए। दुई किलोमिटर दूरी पार नहुँदै बस दुर्घटनामा परेको थियो ।