राजनीति

सरकारका बारे अनर्गल प्रचार भयो : परराष्ट्रमन्त्री डा. खड्का

By खबरहब

October 25, 2021

उदयपुर- परराष्ट्रमन्त्री डा. नारायण खड्काले अहिलेको गठबन्धन सरकारको मुख्य प्राथमिकता भनेको जनताको जीवन रक्षा गर्दै मुलुकको आर्थिक विकासलाई द्रुत गतिमा अगाडि बढाउनु रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन उदयपुरद्वारा सोमबार गाईघाटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा परराष्ट्रमन्त्री डा. खड्काले यस्तो बताएका हुन् ।

‘सरकारको पहिलो प्राथमिकता भनेको सबै नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप लगाएर जनताको जीवन सुरक्षा गर्ने काम हो ।

सरकारको दोस्रो प्राथमिकता भनेको कोरोना महामारीले थिलथिलो बनेको मुलुकको आर्थिक अवस्थालाई सुदृढीकरण गर्न संकटमा परेका उद्योग, कलकारखानालाई सुदृढीकरण गर्ने रहको छ’, उनले भने, ‘त्यसैगरी तेस्रो संचालनमा रहेका ठूला योजनाहरूलाई समयमा नै सम्पन्न गर्ने नीति रहेको छ । चौथो भनेको भष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने हो ।’

सरकारले अहिले चारवटा कुरालाई प्राथमिकीकरण गरी काम गरिरहेको परराष्ट्र मन्त्री डा. खड्काले जानकारी दिए । त्यसमा पनि पहिलो प्राथमिकता रहेको कोरोनाविरुद्धको खोप चालू आर्थिक वर्षभित्रै ७० प्रतिशत जनतालाई खोप लगाइसक्ने लक्ष्य लिएको स्पष्ट पारे ।

उदयपुर निर्वाचन क्षेत्र नम्बर- १ का सांसदसमेत रहेका मन्त्री डा. खड्काले उदयपुरको विकासका लागि आफूले यसअघि पनि धेरै कामहरू गरेको स्पष्ट पारे । उदयपुरको अभिसापको रूपमा रहेको त्रियुगा नदी नियन्त्रणमा आफनो योगदान रहेको औँल्याए ।

ठूलो धनजनको क्षति पुर्‍याउँदै आएको त्रियुगा नदी नियन्त्रणका लागि नेकपा एमाले नेतृत्वको सरकारको पालादेखि नै समन्वय गरी तीन वर्षमा सम्पन्न गर्ने गरी आठ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको र त्यसमध्ये यस वर्ष दुई अर्ब रुपैयाँ अर्थ मन्त्रालयबाट स्वीकृत गरी टेण्डर खोल्ने तयारी भएको जानकारी गराए ।

निर्माणाधीन सगरमाथा विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को काम तीन वर्ष लगाएर सम्पन गराएको र अब चाँडै त्यहाँको जग्गा नागरिक उड्डयन मन्त्रालयको नाममा नामसारी गरी काम अघि बढाउने तयारी भएको उल्लेख गरे ।

गठबन्धनमा रहेका राजनितिक दलहरूका बीचमा साझा सहमतिका एजेण्डाहरूका आधारमा सरकार संचालन भइरहेको बताउँदै नेपालको संविधानले मध्यावधि वा अर्ली इलेक्सनको परिकल्पना नगरेको हुँदा संसदको पूरा अवधिसम्म अहिलेकै सरकार रहनेमा कुनै आशंका नगर्न आग्रह गरे ।