अपराध

रेड पाण्डाको छालासहित पाँच जना पक्राउ

By खबरहब

October 25, 2021

काठमाडौँ- रेड पाण्डाको छालासहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरूलाई काठमाडौंको चाबहिलबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेका २६ वर्षीय युवक लामा, नुवाकोटका २१ वर्षीय रुपेश अधिकारी, संखुवासभाका २२ वर्षीय अरुण राई, सिन्धुपाल्चोकका २० वर्षीय सुभाष गिरी र रसुवाका २० वर्षीय दावा घले रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

चाबहिलस्थित सत्कार क्याफेबाट अन्दाजी ९० सेन्टिमिटर लम्बाइ र १५ सेन्टिमिटर चौडाइ आकारको उक्त छाला बिक्री गर्ने उद्देश्यले सो क्याफेमा गएका उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि सोमबार जिल्ला वन कार्यालय काठमाडौं पठाइएको महाशाखाले जानकारी दिएको छ ।

उनीहरूका साथबाट रेड पाण्डाको  छालाका साथमा विभिन्न ब्राण्डका ६ थान मोबाइल पनि बरामद गरिएको महाशाखाले जनाएको छ ।