राजनीति

रुपन्देहीमा ३ मा देउवा प्यानल विजयी, गुरुङ सभापतिमा निर्वाचित

By खबरहब

November 25, 2021

भैरहवा – नेपाली कांग्रेस रूपन्देही ३ को क्षेत्रीय सभापतिमा सुशील गुरुङ निर्वाचित भएका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलका गुरुङ ३ सय ७७ मत ल्याएर सभापति बनेका हुन् ।

उनका प्रतिस्पर्धी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मातृका यादवले २ सय ४२ मत मात्र पाए । सभापतिका अर्का उम्मेदवार महेन्द्रप्रसाद यादवले ४ मत मात्र पाए ।

सभापतिमा गुरुङसँगै उनको प्यानल नै विजयी भएको छ । सचिवमा चार जनाको उम्मेदवारी थियो । जसमा गुरुङ प्यानलकै भवानीप्रसाद शर्मा ३ सय ६७ मत र लेखनाथ भट्टराई ३ सय ६२ मत ल्याएर विजयी भएका छन् ।

यादव प्यानलका शैलेसकुमार पन्तले २ सय १८ र टंक प्रसाद पाण्डेले २ सय २७ मत प्राप्त गरेर पराजित भएको प्रमुख निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए ।

सहसचिवमा कुलप्रसाद न्यौपाने ३ सय ७२ र प्रेमसागर थारू ३ सय ८२ मत ल्याएर विजयी भएका छन् । ‘क’ र ‘ख’ तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पनि गुरुङ प्यानल विजयी भएको छ ।