इनसाइट/स्पेशल

बहराइनका राजकुमारलाई सगरमाथा आरोहणको अनुमति

By खबरहब

March 26, 2021

काठमाडौँ– वसन्त यामको सगरमाथा आरोहणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) जारी गरेको छ ।

सो यामको सगरमाथा आरोहणको पहिलो अनुमति दुई आरोही समूहले प्राप्त गरेका छन् ।

बहराइनी राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले आरोहण अनुमति लिएको विभागले जनाएको हो । सगरमाथा आरोहणका लागि राजकुमार शेख नसेर बिन हमिद अल खलिफाका भाइ शेख मोहम्मदसहित १६ जनाको टोली गत चैत २ गते नेपाल आएको थियो ।

नेपालस्थित सेभेन समिट ट्रेकमार्फत आरोहणको तयारी भइरहेको छ । बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहने आरोही टोली ७९ दिन नेपालमा रहने जनाइएको छ ।

वसन्त यामको सगरमाथा आरोहणका लागि पहिलो आरोहण अनुमति बहराइनी राजपरिवारका सदस्यसहितको आरोही समूहलाई दिइएको विभागको पर्वतारोहण शाखाका मदन विमलीले जानकारी दिए ।

उनका अनुसार बहराइनी आरोही समूह १६ जनाको भएकाले दुई समूह बनाएर अनुमति दिइएको छ । एक आरोही समूहमा बढीमा १५ सदस्य रहने प्रावधान छ । कोभिड–१९ महामारी जोखिमका बीच आरोहण अनुमति जारी हुनु र यसमा पनि विशिष्ठ पाहुनाको आरोहणले नेपालको साहसिक पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सहयोग पुग्ने अपेक्षा विभागले लिएको छ ।

कोरोनाका कारण अघिल्लो वर्ष मुख्य याममै नेपालको पर्वतारोहण र पदयात्राले असर बेहोरेका सन्दर्भमा महामारीकै बीच हिउँदमा भएका केही आरोहण तथा आगामी यामका लागि बुकिङ शुरु भएकाले यस वर्ष आरोहणमा सुधारका सङ्केत देखिएका छन् ।