विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले वायु प्रदूषण पहिले अनुमान गरिएभन्दा धेरै गुणा खतरनाक रहेको भन्ने निष्कर्ष सार्वजनिक गरेको छ । वातावरणमा रहेको नाइट्रोजन डाइअक्साइडले मानिसलाई असुरक्षित गराएको छ । डब्ल्युएचओको तथ्याङ्कअनुसार वार्षिक ७० लाख मानिस वायु प्रदूषणसँग सम्बन्धित रोगले मर्ने गरेका छन् ।
आर्थिक विकासका नाममा हुने गरेको जीवाश्म इन्धनको बढी प्रयोग हुने मध्यम तथा निम्न आय भएका देशमा यो समस्या अझ बढी छ । वायु प्रदूषण, धूमपान र अस्वस्थ खाद्यान्न नै अहिले संसारको प्रमुख समस्या भएको पनि डब्ल्युएचओले जनाएको छ । नोभेम्बरमा हुने कोप–२६ सम्मेलनमा पनि जलवायु परिवर्तन तथा कार्बन उत्सर्जनले बढाउने वायु प्रदूषणका बारे छलफल हुने भएको छ । साथै, कार्बन उत्सर्जन कसरी घटाउने विषयमा पनि छलफल हुनेछ ।
वातावरणमा रहेको खराब ग्यासले मान्छेको मुटु र फोक्सोमा पहिले सोचिएभन्दा धेरै बढी असर गर्ने गरेको पछिल्ला अध्ययनले देखाएको छ । अहिले संसारका धेरै देशले वातावरणका लागि अपनाएका मापदण्ड पर्याप्त नभएको निष्कर्ष पनि डब्ल्युएचओको छ ।
हामीले श्वास लिँदा साना कणहरू शरीरमा प्रवेश गर्नबाट रोक्नु ज्यादै कठिन काम हो । सवारी साधनको धुवाँ सबैभन्दा ठूलो समस्या हो । यसका अन्य विभिन्न रसायनको प्रतिक्रिया भएर एउटा विष वातावरणमा फैलिरहेको हुन्छ जो मानिसका लागि अत्यन्त हानिकारक हुन्छ ।
कार पखाल्दा पनि वातावरण प्रदूषण बढ्छ । पछिल्लो अध्ययनले विद्युतीय कार समेत असुरक्षित मानेको छ । शहरमा बस्ने हो भने हरेक व्यक्ति पलपल प्रदूषणको सिकार भएको छ । हावामा हुने ‘पिएम २.५ एस’ आकारको सानो अत्यन्त हानिकारक हुन्छ । ऊर्जा उत्पादनका लागि कच्चा पदार्थ बाल्दा, सवारी साधनको इन्जिनबाट र घरेलमा बालिने आगोबाट पनि उक्त अकारको कण हावामा फैलिन्छ ।
विश्व स्वास्थ्य सङ्गठनले यसै साता नयाँ गाइडलाइन तयार पारेको छ । यो गाइडलाइन अनुसार चलेमा वायु प्रदूषण घट्ने र ‘पिए २.५ एस’ कारण मर्नेको संख्या ८० प्रतिशतले कम हुनेछ । यसै गाइडलाइनले ‘पिएम २.५ एस’ २५ प्रतिशतले घटाउने छ ।
यसै गाइडलाइनले ओजन तह पातलिने क्रम रोक्ने छ; नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड र कार्बन मोनो अक्साइडको उत्पादनमा पनि घटाउनेछ । वायु प्रदूषणले मुटुको समस्या निम्त्याउँछ, हृदयघात हुने सम्भावना धेरै हुन्छ । बालबालिकाको हकमा फोक्सो राम्रोसँग विकास हुनमा असर पर्छ र स्वासप्रश्वासको रोग आस्थामाको पनि समस्या हुन सक्छ ।
हावाको गुणस्तर वृद्धिबाट जलवायु परिवर्तनले ल्याउने क्षति कम गर्न सकिन्छ, हानीकारक ग्यास उत्सर्जनमा कमी ल्याएमा हावाको गुणस्तर बढाउन सकिन्छ ।
अहिले संसारमा वायु प्रदूषणको प्रमुख कारण जीवाश्म इन्धन मानिएको छ । साथमा कोइला तथा सवारी साधनमा प्रयोग हुने पेट्रोलियम पदार्थले पनि वायु प्रदूषण बढाउँछन् । यसबाट उत्पन्न कार्बन मोनो अक्साइडले मानिसको मुटुको काममा अवरोध सिर्जना गर्छ । यो ग्यासले मुटुलाई अक्सिजन पम्प गर्न अवरोध गर्छ जसका कारण शरीरमा कम भएर अक्सिजन गम्भीर समस्या हुन सक्छ ।
औद्योगिक क्षेत्रमा सबैभन्दा धेरै, काठ, कोइला र पेट्रोलियम पदार्थ प्रयोग हुन्छ । यीसँगै अन्य रसायनको पनि प्रयोग हुने कारणले नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड र कार्बन मोनो अक्साइड उत्सर्जन हुन्छ । यी सबै फोक्सोका लागि अत्यन्त हानिकारक हुन्छ । यिनीहरूले दीर्घकालीन गम्भीर रोगको निम्त्याउँछन् ।
हामीले काम गर्ने कार्यालयको कोठा, घर या विद्यालयमा पर्याप्त मात्रामा हावाको बहाव नहुँदा तथा असामान्य तापक्रम या आर्द्रताको कारण भोलाटाइल अर्गानिक कम्पाउन्ड (भिओसीएस) को निर्माण हुन्छ । घर भित्र दाउरा बालेको कारण, कसैले धूमपान गरेका कारण र भित्ता असाध्यै फोहोर भएका कारण पनि यस खालको समस्या निम्तिन सक्छ ।
वायु प्रदूषणका कारण वातावरणमा मिथेनको पनि मात्रा रहेको छ । मिथेन ग्यासको उत्पादन औद्योगिक क्षेत्रमा बढी हुने गरेको छ ।
फोहोर पदार्थ सार्वजनिक स्थानमा बाल्नु पनि अहिलेको समस्या बनेको छ । यस्तो समस्या सबैभन्दा धेरै रहेको ठूलो शहर भारतको नयाँ दिल्ली हो । दक्षिण एसियाका धेर्र शहरमा यस्तो समस्या रहेको छ । यसबाट उत्पन्न हुने प्रदूषणका कारण क्यान्सर र कलेजोको समस्या, रोग प्रतिरोधात्मक क्षमतामा कमी तथा नसाको समस्या उत्पन्न हुन्छ । यसबाट नपुंसकताको समस्या पनि हुन सक्छ ।
कन्स्ट्रक्सनको क्षेत्रमा हुने इट्टा र सिमेन्टको धुलो वायु प्रदूषणको थप कारण हो । संसारमै धेरै बालक र वृद्धमा यसले समस्या उत्पन्न गरेको छ ।
कृषि क्षेत्रसमेत अहिले वायु प्रदूषणको एउटा प्रमुख कारण बनेको छ । हामीले प्रयोग गर्ने गरेको रासायनिक मल एउटा प्रमुख समस्या त हो नै । हामीले माटोमा प्रयोग गरे पनि यसले हावामा समेत प्रभाव पार्ने जनाइन्छ । यसका साथै स्प्रे त खतरनाक नै हुन्छ । कीटनाशक औषधि स्प्रे मार्फत प्रयोग गर्ने चलन धेरै छ । वायु प्रदूषण बढाउने सवालमा यो अत्यन्त घातक हो ।
घरेलु रूपमा प्रयोग गरिने सामग्री थप समस्या बनेको छ । हामीले प्रयोग गर्ने सेन्थेटिक सामग्री तथा कस्मेटिक सामग्री अझ हानिकारक मानिएको छ । यी सामग्रीले वायु प्रदूषण निम्त्याउने गरेको छ । पफ्र्युमले श्वास प्रश्वास समस्या र फोक्सोको समस्या अझ बढाउने छ ।
गत महिना प्रकाशित एक रिपोर्टमा वायु प्रदूषणका कारण धूमपान, एचआइभी र लडाइबाट भन्दा बढी व्यक्तिको ज्यान गरेको उल्लेख गरिएको थियो । डब्ल्युएचओले तयार गरेका गाइडलाइनभन्दा बाहिर चल्ने देशमा वायु प्रदूषणका कारण औसत एक व्यक्तिको आयु २ दशमलव २ वर्ष छोटिएको छ । युनिभर्सिटी अफ सिकागो अन्तर्गतको इनर्जी पोलिसी इन्स्टिच्युटका अनुसार वायर प्रदूषणका कारण सबैभन्दा धेरै प्रभावित भएको भारत हो । भारतमा वायु प्रदूषणका कारण प्रतिव्यक्ति आयु छोट्टिने दर सबैभन्दा बढी छ ।
सन् २०१९ मा प्रकाशित एक डकुमेन्टअनुसार उत्तरी भारतको समस्या त भयावह नै छ । दिल्ली र कलकत्तामा बसोबास गर्नेहरूको जीवन त नौ वर्षसम्म घटेको जनाइएको छ । विगतमा पनि डब्लुएचओको गाइडलाइन नमानेका कारण आयु छोट्टिनेमा भारतपछि बङ्गलादेश नेपाल र पाकिस्तान छन् । सफा शहरको रूपमा पहिचान बनाएको सिङ्गापुरमा औसतमा एक जनाको आयु ३ दशमलव ८ वर्षको दरले छोट्टिएको छ ।
उक्त रिपोर्टले कोरोना महामारीको समयमा वायु प्रदूषण क्षेत्रमा राम्रो प्रभाव परेको जनाएको छ । सफा आकाश, हवाई ट्राफिकमा कमी तथा कल कारखानाको काममा भएको कमीका कारण वातावरणमा सकारात्मक प्रभाव परेको भए पनि अमेरिका लगायत देश भने डढेलोको सिकार भए । यसले वायु प्रदूषणमा नकारात्मक प्रभाव पार्यो ।
वायु प्रदूषणको उच्च जोखिममा एसियाका ठूला सहर धेरै रहे । इन्डोनेसियाको बाङदुङमा प्रतिव्यक्ति आयु ७ वर्षका दरले घटेको जनाइएको छ । राजधानी जकार्तामा औसत ६ वर्षका दरले आयु घटेको छ ।
डब्ल्युएचओले १५ वर्षको अन्तरमा यो साता नयाँ गाइडलाइन ल्याएको हो ।
विगत १५ वर्षमा केही डरलाग्दो तथ्याङ्क देखिएपछि डब्ल्युएचओ नयाँ गाइडलाइनका लागि बढी संवेदनशील भएको थियो । सन् २०१६ मा ४१ लाख व्यक्तिको अल्पायुमा निधन भएको थियो । ती मध्येका आधाको मृत्युको कारण वायु प्रदूषण थियो ।
अहिलेको नयाँ गाइडलाइन लागु भए प्रतिवर्ष ३३ लाख जनाको अल्पायुमा हुने मृत्यु कम हुने अनुमान छ । कोभिड महामारी तथा जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीमा केन्द्रित संयुक्त राष्ट्र सङ्घको ७६औँ महासम्मेलनपछि यो लागु भएको हो ।
यो गाइडलाइन तयार गर्नमा नेतृत्वदायी भूमिका निर्वाह गरेका डोटोरा जारेसिन्स्काले गाइडलाइन तीन विषयमा केन्द्रित भएर तयार गरिएको जनाएका छन् । आम व्यक्तिको स्वास्थ्य प्रवर्द्धन गर्नु, हावाको शुद्धता बढाउनु र जलवायु परिवर्तनबाट हुन क्षति कम गर्नु गाइडलाइनका उद्देश्य हो । उनले कोरोनाको कारण हुने क्षति पनि यसले कम गर्ने जनाएका छन् ।
अगस्टमा युएन स्टेट अफ द साइन्सले तयार पारेको प्रतिदेनका प्रभावमा रहेर यो गाइडलाइन तयार पारिएको हो । उक्त प्रतिवेदन जलवायु परिवर्तन र वायु प्रदूषणका कारण मानिसको आयु कम भएको कुरा केन्द्रित थियो ।
सम्भवतः नोभेम्बरमा ग्लास्गोमा हुने जलवायु परिवर्तन सम्मेलनपछि यो गाइडलाइनका लागि थप सक्रियता देखाइने छ ।
बढ्दो औद्योगीकीकरण, कार्बन उत्सर्जन र रासायनिक मलनिर्भर कृषि प्रणालीले हरेक दिन हाम्रो आयु घटाउँदै लगेको छ । समयमै डब्ल्युएचओको गाइडलाइनअनुसार नचले हामी सबैका सामु गम्भीर समस्या निम्तिने निश्चित छ । –एजेन्सीहरूको सहयोगमा