काठमाडौँ– नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनको मतपरिणाम आउने क्रम जारी छ । देशका ६४ जिल्लामा शनिबार स्थानीय तहको अधिवेशन गर्ने भनिए पनि ९ वटा जिल्लामा भने अधिवेशन हुन नसकेको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले जानकारी दिए।
उनले खबरहबसँग भने, ‘हिजे ६४ जिल्लामा अधिवेशन गर्ने कुरा थियो, तर ९ वटा जिल्लामा अधिवेशनको मिति सारिएको छ । ती मध्ये केही जिल्लामा यही ११ गते र १६ गते अधिवेशन हुन्छ ।’ अधिवेशन भएका स्थानीय तहको परिणाम केन्द्रमा आइनसकेको उनले जानकारी दिए ।
केही स्थानीय तहमा सर्वसम्मत भएको र केही स्थानीय तहमा मित्रवत् प्रतिस्पर्धा भएको उनले जानकारी दिए ।
सोमबार मतिपारिणाम आएको एकमात्र महानगरपालिका पोखराको सभापतिमा सुरेन्द्रमान विजुक्छे निर्वाचित भएका छन् । उनले नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष गंगाधर पराजुलीलाई पराजित गरेका छन् । विजुक्छे वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् ।
स्थानीय तहको मतपरिणाममा सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता पौडेल पक्षबीच प्रतिस्पर्धा भएको छ । मतपरिणाम मिश्रित आएको छ । तर, परम्परागत रुपमा पौडेल पक्ष बलियो रहेको कर्णालीको दैलेख जिल्लामा देउवा समूह हावी देखिएको छ । सोमबार बिहानसम्म जिल्लाका ११ मध्ये ५ स्थानीय तहको परिणाम आउँदा पाँचैमा देउवा समूहका उम्मेदवार सभापतिमा निर्वाचित भएका छन् ।
उता सभापति देउवाको गृह जिल्ला डडेल्धुरामा विवादका बीच स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । सभापति देउवा इतर समूहले बहिस्कार गरेको स्थानीय तहको अधिवेशनमा देउवा निकट उम्मेदवारहरु नै विजयी भएका छन् । जिल्लाको परशुराम नगरपालिकाको सभापतिमा भरत बडायर जोशी निर्वाचित भएका छन् । अमरगढी नगर सभापतिमा खेमराज भट्ट्, अजयमेरु गाउँपालिकामा टेकराज पाण्डेय र नवदुर्गा गाउँपालिकामा भोजराज भट्ट निर्वाचित भएका छन् ।
त्यस्तै भागेश्वर गाउँपालिका सभापतिमा डम्बरराज जोशी र गन्यापधुरा गाउँपालिकाको सभापतिमा ईन्द्र कार्की बिजयी भएका छन् । यस्तै रुपन्देहीका १६ स्थानीय तहमध्ये ५ वटामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । गैडहवा गाउँपालिका, कोटहीमाई गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चवारी गाउँपालिका र ओमसतीया गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो । अन्य स्थानीय तहमा निर्वाचन भएको छ ।
बुटवल उपमहानगरपालिकामा पौडेल पक्षका खेलराज पाण्डेय निर्वाचित भएका छन् । उनले देउवा पक्षीय उम्मेदवारलाई पराजित गरेका छन् । यस्तै देवदह नगरपालिकामा पौडल पक्षका गनाखर भुर्तेल सभापतिमा विजयी भएका छन् । अन्य स्थानीय तहमा भने देउवा निकट उम्मेदवार विजयी भएका छन् ।
विभिन्न जिल्लामा अहिले पनि मतगणना जारी रहेकाले मपरिणाम आउनेक्रम जारी छ ।