शिक्षा

विदेश अध्ययनका लागि भिसा लागेका विद्यार्थी अलपत्र

By मिलन दाहाल

September 26, 2021

काठमाडौँ– अध्ययनका लागि विदेश जान भिसा आएर बसेका विद्यार्थीहरु करिब दुई वर्षदेखि अलपत्र परेका छन् । कोरोना महामारीका कारण विभिन्न मुलुकहरुले विद्यार्थीको आवागनमनमा प्रतिबन्ध लगाएपछि नेपाली विद्यार्थी त्यसको मारमा परेका हुन् ।

केही विद्यार्थीहरुले नेपालबाट विदेशी विश्वविद्यालयहरुलाई पैसा पठाएर अनलाइन कक्षामार्फत अध्यननलाई अघि बढाएका छन् भने केही विद्यार्थीहरु प्रतिबन्ध हट्ने समय कुरेर बसेका छन् ।

वैदेशिक अध्ययनमा जाने अधिकांश विद्यार्थीको सोचाई अध्ययन गर्दै पैसा कमाउने हुन्छ । सोही सोचका साथ झापाका मिलन थापाले पनि जापान जाने निधो गरे । जापानको टोकियो इन्टरनेशनल युनिभर्सिटीमा इन्टरनेशनल रिलेशन (आईआर) विषय पढ्न जाने प्रक्रिया अघि बढाए । उनलाई युनिभर्सिटीले अध्ययनका लागि जापान आउन योग्य रहेको पत्र (सिओई) दिए पनि जापान सरकारले विदेशी नागरिक तथा विद्यार्थीलाई आउन रोक लगाएका कारण उनी जान पाएका छैनन् ।

उनले युनिभर्सिटीलाई शुल्क समेत बुझाइ सकेका छन् । नेपालबाट अनलाइन कक्षा लिँदा मासिक करिब १ लाख रुपैयाँ लाग्ने र उक्त आर्थिक भार थेक्न नसक्ने भएकाले युनभिर्सिटीलाई डेढ लाख रुपैयाँ तिरेर ६ महिनाको विदा लिएको उनले बताए । उक्त विदा पनि सकिएको उनले जानकारी दिए ।

उनले भने, ‘हामी जस्तो मध्यम वर्गीय आर्थिक अवस्था भएका सबै विद्यार्थीहरुको विदेशमा गएर आफ्नो खर्च आफै कमाउने सोच हुन्छ । मैले पनि त्यही सोचका साथ जापान जाने निधो गरेको थिएँ ।’

हालसम्म करिब १४ लाख रुपैयाँ खर्च भइसेको उनले बताए । जापान गएरै निर्धक्कले पढ्ने सोच बनाएर ६ महिनाको विदा लिए पनि हालसम्म जापान सरकारले विदेशी नागरिकलाई प्रवेश नदिएकाले समस्या भएको उनले बताए ।

फेरि ढेड लाख तिरेर ६ महिनाको विदा लिदाँ बीचमै जापान जाने अवसर आए विदा अवधिभर जान नपाइने र सिओईको समय अवधि आगामी पुसमा सकिने भएकाले विदा लिने कि नलिने भन्ने दोधारमा रहेको उनले बताए ।

झापाकै असिम प्रसाई पनि बीआईटी अध्ययन गर्न अस्ट्रिेलियाको भिसा लगाएर बसेका छन् । सन् २०२० मार्च महिनामै अस्ट्रेलियाको भिसा आए पनि उनी हालसम्म जान भने पाएका छैनन् । बैंकबाट १५ लाख रुपैयाँ ऋण गरेर युनिभर्सिटीलाई बुझाएका उनले अहिले महिनाको १८ हजार रुपैयाँ ब्याज तिरिरहेका छन् । फेरि युनिभर्सिटीलाई शुल्क तिर्नुपर्ने समय नजिकिँदै गएको र अस्ट्रिेलिया जान पाउने टुङ्गो नलागेकाले तनाव भइरहेको उलने बताए ।

अध्ययनसँगै काम गरेर आफ्नो खर्च कमाउने सोच बनाएका विद्यार्थीहरुलाई अहिले आर्थिक भार समेत परेको छ ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेका अनुुसार कोरोना सुरु भएपछि धेरै नेपाली विद्यार्थीहरु वैदेशिक अध्ययनमा जान पाएका छैनन् । तर पछिल्लो केही समय धेरै देशहरुले विदेशी विद्यार्थी तथा नागरिकहरुलाई प्रवेश दिइसकेका छन् । अमेरीका, बेलायत, क्यानडा र युरोपलगायत अन्य देशहरुले विद्यार्थीलाई प्रवेश दिइसकेको उनले बताए ।

वैदेशिक अध्ययनका लागि विद्यार्थीहरुको रोजाइमा परेका अस्टे«लिया, जापान न्यूजील्यान्ड, र चीन जस्ता केही देशले प्रवेश नदिएकाले विद्यार्थीहरु मर्कामा परेको उनले बताए ।

उनले भने, ‘अध्ययनका लागि सबैभन्दा धेरै विद्यार्थी जाने देश जापान र अस्टे«लिया हुन् । यी देशले विद्यार्थीलाई प्रवेश नदिएकाले धेरै विद्यार्थीहरु मर्कामा परेका छन् ।’ कोरोना महामरीकै कारण अस्ट्रेलियामा अध्ययन गर्ने भिसा पाएका करिब ४ हजार विद्यार्थीहरु रोकिएको उनले बताए ।

त्यस्तै जापानमा अध्ययन गर्नका लागि करिब ८ देखि १० हजार विद्यार्थीले सिओई (जापान जाने योग्यताको प्रमाणपत्र) लिएर बसेका छन् भने करिब १ हजार विद्यार्थीले भिसा लिएर बसेको अवस्था छ ।

सिओई लिएका मध्ये करिब ३ हजार विद्यार्थीहरुले शुल्क पनि बुझाइसकेको उनले बताए । ती विद्यार्थीहरुले ७ लाखदेखि १३ लाखसम्म बुझाएको उनले जानकारी दिए । सिओई प्राप्त भए भिसा लाग्ने सम्भावना धेरै भएकाले विद्यार्थीहरुले सिओई आइसकेपछि युनिभर्सिटीहरुलाई पैसा पठाउने गर्दछन् ।

विद्यार्थीले रोजेको विश्वविद्यालय र कलेज अनुसार शुल्क फरक फरक हुने भएकाले जापानमा एक वर्षमा ७ देखि १३ लाख लाग्ने गरेको उनले बताए ।

१३ लाख देखि २२ लाख रुपैयाँसम्म तिरेर विद्यार्थीहरु अस्टे«लिया जाने गरेको उनले बताए । अस्ट्रिेलियामा भिसा लागेका सबै विद्यार्थीहरुले पैसा तिरिसकेका छन् ।