अन्तर्राष्ट्रिय

सुडानमा सेनाको कूको बिरोधमा भएका प्रदर्शनमा गोली चल्यो, १० जनाको मृत्यु

By खबरहब

October 26, 2021

काठमाडौँ– सुडानमा सेनाको कूको बिरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । गोली लागेर दर्जनौं घाइते भएका छन् । सोमबार त्यहाँको सेनाले गठबन्धन सरकारलाई अपदस्थ गरेर सरकार विघटन गरिदिएको थियो ।

सेनाको कदमको बिरोधमा हजारौँले राजधानी खार्तुमलगायतका शहरमा प्रदर्शन गरेका थिए । उनीहरुले गैर सैनिक शासन माग गरेका थिए ।

सैन्य कूको अन्तर्राष्ट्रिय समुदायले पनि बिरोध गरेको छ । अमेरिकाले सुडानलाई यसअघि उपलब्ध गराउने भनेको ७० करोड डलर रोक्का गरेको छ ।

जनरल अब्देल फतेह बुर्हानले राजनीतिक अस्थिरताका कारण सुडानमा संकट निम्तिएको बताएका छन् । सुडानमा लामो समय शासन गरेका ओमार अल–बशिरलाई दुई वर्षअघि हटाइएपछि त्यहाँ राजनीतिक अस्थिरता बढेको छ ।

सेनाले सत्ता हातमा लिएपछि बन्द भएका विमानस्थल, अन्तर्राष्ट्रिय उडान र टेलिफोन सेवा अझै सञ्चालनमा छैनन् ।