देश/प्रदेश

के कोभिडको पूर्ण खोप लगाएका मानिसको कोभिडबाट मृत्यु हुन्छ?

By साउथ एसिया चेक

October 26, 2021

काठमाडौँ– अमेरिकाका पूर्व विदेशमन्त्री कलिन पावेलको गत कात्तिक १ गते कोभिड-१९ सम्बन्धित स्वास्थ्य जटिलताको कारण मृत्यु भएपछि कोभिड विरुद्धको खोपको प्रभावकारितामाथि चलिरहेको बहस फेरि चुलिएको छ।

पावेलले कोभिडको पूर्ण मात्रा खोप लगाएका थिए। नेपाली सामाजिक सञ्जालमा पनि दुई डोज अथवा पूर्ण खोप लगाएपछि मृत्यु भएको विवरण आइरहेको छ।

मानवी पौडेलले ट्विट गरेकी छन्, ‘एकदमै महत्वपूर्ण जानकारी: यो हप्ता मात्रै पूर्ण खोप अर्थात दुवै डोज खोप लगाएका ४ जना एकदमै नजिकका आफन्तहरु गुमाउन पुगेँ। कृपया कोभिडलाई सामान्य रुपमा नलिनोस्।’

सोही ट्विटलाई उद्धृत गर्दै सन्तोष घिमिरेले ‘कृपया खोपलाई सामान्य नलिउँ’ भनेका छन्। उक्त ट्विटमा प्रतिक्रिया जनाउँदै रोशन महर्जनले विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रमेश महर्जन (उनले कोभिडको पूर्ण खोप लगाएका थिए) उक्त रोगकै कारण मृत्यु भएको उल्लेख गरेका छन्।

कोभिड-१९ खोपका साइड इफेक्ट के के हुन् ?

कोभिड खोप लगाएपछि आमरुपमा केही सामान्य असर देखिन्छन् केही घातक असर समेत हुन सक्छन्। कोभिड-१९ खोप लगाएका मनिसहरुमा अन्य खोप लगाउँदा हुने सामान्य असरहरु जस्तै खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुनसक्ने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महशुस हुन्छ । यसबाहेक वाकवाकी लाग्ने, मांशपेशी वा जोर्नी दुख्ने, वान्ता आउने जस्ता असर पनि देखिन्छन्।

नेपालीले लगाएको जोन्सन एण्ड जोन्सन खोप र एस्ट्राजेनेका खोप लगाउने व्यक्तिमा पनि कतिपय घातक असरहरु देखिएका विवरण सार्वजनिक भएका छन्।

अमेरिकाको औषधि सम्बन्धी नियमनकारी निकाय फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले जोन्सन एण्ड जोन्सन खोपले स्नायु प्रणाली सम्बन्धी एक दुर्लभ रोग ‘गिलान-बारे’ को जोखिम हुनसक्ने चेतावनी दिएको थियो।

त्यस्तै एस्ट्राजेनेका वा कोभिसिल्डले भ्याक्सिन इन्ड्युस्ड थ्रोम्बोसिस थ्रोम्बोसाइटोपेनिया भएको पाइएको वैज्ञानिक निष्कर्षहरू सार्वजनिक गरिएका छन्।

भ्याक्सिन इन्ड्युस्ड थ्रोम्बोसिस थ्रोम्बोसाइटोपेनिया (भीआइटिटी) के हो?

निजामती कर्मचारी अस्पतालमा कार्यरत रक्त क्यान्सर विशेषज्ञ डा. विशेष शर्मा पौड्यालका अनुसार खोप लगाएको ४ दिनपछि सो लक्षण देखिने सम्भावना रहन्छ।

रगत जम्ने र प्लेट्लेट्स कम हुने अवस्थालाई भ्याक्सिन इन्ड्युस्ड थ्रोम्बोसिस थ्रोम्बोसाइटोपेनिया (भीआइटिटी) भन्ने गरिन्छ। यस अवस्थामा धेरैजसो बिरामीको टाउको, पेट वा खुट्टाको नशामा रगत जम्ने हुन्छ। ‘त्यसको सँगसँगै प्लेटलेट्स बिस्तारै कम हुँदै जाने गर्छ। कोही मान्छेलाई खोप लगाएको ४/५ दिनमा बान्ता आउने, टाउको दुख्ने, छारे रोग जस्तो हुने, खुट्टाहरू सुनिने पेट दुख्ने अथवा दिशा गर्दा रगत बग्ने यसको लक्षण हो,’ डा पौड्यालले बताए ।

नेपालमा आफूले त्यस्तै एक बिरामीमा खुट्टा सुनिएको देखेको डा पौड्यालले बताए।

‘टाउकोको नशामा रगत जम्यो खतरा हुन्छ। बेलैमा पत्ता लागेन भने उपचार गर्न जटिल हुन्छ। उपचार नभएमा ज्यान पनि जान सक्छ,’ उनले भने।

२०७८ बैशाख २८ गते प्रकाशित विभिन्न देशका तथ्याङ्कहरू समीक्षा गर्दै प्रस्तुत गरिएको एउटा वैज्ञानिक निष्कर्षमा खोप लगाएको ४ देखि २८ दिनसम्म यस्तो लक्षण देखिएको उल्लेख छ। बढीमा प्रत्येक २६ हजार ५०० मा एकजनामा र कम्तिमा प्रत्येक १ लाख २७ हजार ३०० मध्ये एकजनामा त्यस्तो असर देखिएको उक्त वैज्ञानिक समीक्षामा जनाइएको ।

नेपालमा त्यस्ता लक्षण कम देखिएको हुनसक्ने डा. पौड्याल ठान्छन्।

‘यसको लक्षण देखिएपछि लुकाउन मिल्दैन, अस्पताल आउनै पर्छ। हामीले खोप लगाएपछि ज्वरो आएको र शरीर दुखेको सुनिरहेका छौँ। त्यसैले त्यस्तो घटना भएको भए थाहा हुन्थ्यो।’

तर यी खोप प्रयोग गर्न अनुमति दिने नियामक निकाय तथा उत्पादकहरूले त्यसले पुर्‍याउने फाइदाको तुलनामा जोखिम नगण्य रहेको बताउँछन्।

डा पौड्याल समेत त्यसमा सहमत छन्।

के हो गिल्यान-बारे?

गिल्यान-बारे सिन्ड्रोम (जिबिएस) मानिसको स्नायु प्रणालीमा देखिने दुर्लभ समस्या हो।

शरीरको प्रतिरक्षात्मक प्रणालीले स्नायु प्रणालीलाई आक्रमण गर्दा यसले शारीरिक कमजोर हुने, दुख्ने र सुन्निनुका साथै पक्षाघातसम्म हुनसक्छ।

खोप लगाएको ४२ दिनभित्र जीबीएसको लक्षण देखिने विज्ञहरुले बताएका छन्। जोन्सन एन्ड जोन्सन खोप लगाएको व्यक्तिमा जीबीएस देखिएपनि त्यस्ता घटना निकै न्यून रहेको बताइन्छ छ।

अमेरिकाको औषधिसम्बन्धी नियमनकारी निकाय एफडिएले गत अषाढ २९ गते प्रकाशित रिपोर्ट अनुसार १ करोड २५ लाख खोप लगाउँदा १०० जनामा जीबीएस देखिएको थियो। तीमध्ये ९५ जनाको अवस्था गम्भीर भएर अस्पताल भर्ना गर्नुपरेको थियो भने तीमध्ये एकजनाको मृत्यु भएको थियो।

एफडीएले उक्त विवरणमा अमेरिकामा बर्षेनि ३ हजारदेखि ६ हजार मानिसमा जीबीएस पाइने जनाएको छ। इन्फ्लूएन्जाबाट बच्न लगाइने खोपहरूको कारण पनि जीबीएस भेटिएको बताइएको छ।

त्यसमा भनिएको छ, ‘धेरै मानिसहरू यस समस्याबाट पूर्ण रूपमा निको हुन्छन्।’

विज्ञहरू के भन्छन्?

अमेरिकी सेन्टर्स फर डिजिज कन्ट्रोल (सीडिसी) ले हालै प्रकाशित गरेको एक प्रतिवेदनका अनुसार खोप नलगाएकाहरूभन्दा खोप लगाएकाहरू कोरोनाभाइरस संक्रमणको जोखिम ६ गुणा कम हुन्छ । त्यस्तै मृत्यु हुने जोखिम ११ गुणा कम हुन्छ।

नेपाली जनस्वास्थ्य विज्ञहरू समेत खोपले हाम्रो शरीरमा कसरी काम गर्छ भन्ने जानकारीको अभावका कारण भ्रम सिर्जना भएको बताउँछन्। जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षित भन्छन्, ‘खोपले हाम्रो प्रतिरोधी प्रणालीलाई झुक्याउने काम गर्छ। झुक्याएर साँच्चै रोग लाग्यो भन्ने अवस्था उत्पन्न गर्छ। भ्याक्सिनमा प्रयोग भएको रसायनहरू मानव शरीरलाई असर गर्ने खालको हुँदैन।’

अहिलेसम्म देखिएको गिलान-बारे सिन्ड्रोम र भीआइटिटीजस्ता असर नगण्य मात्रामा भएको विज्ञहरूको भनाइ छ। ‘१ लाखमा १-२ जनामा देखिनु नगण्य हो। त्यो कोभिड रोगले पनि हुनसक्छ र कोभिड खोपले पनि हुनसक्छ। साइड इफेक्ट्स छ तर धेरै न्यून छ,’ डा दीक्षित भन्छन्।

अस्पतालमा भर्ना हुने मध्येका अधिकांशजसो कोभिड बिरामीहरू खोप नलगाएका मानिसहरू भएको चिकित्सकहरू बताउँछन्।

नेपालमा कस्तो अवस्था छ?

काठमाण्डौको टेकु अस्पतालका प्रमुख डा.अनुप बास्तोलाका अनुसार तीन चरणको परीक्षण पछि सुरक्षासम्बन्धी मापदण्ड पूरा गरेर मात्र खोप सर्वसाधारणलाई लगाइन्छ। कुनै कारणले खोप लगाएको मानिसको मृत्यु भयो भने त्यसलाई खोपकै कारणले मृत्यु भएको भन्न नमिल्ने उनको मत छ। ‘मृत्यु हुने अन्य कारण पनि हुनसक्छ। खोपलाई दोष दिइहाल्दा त्यसले मानिसहरूमा नकारात्मक सन्देश प्रवाह गर्न सक्छ,’ डा बास्तोलाले भने।

‘हामीले बुझ्नुपर्ने कुरा के पनि छ भने कहिलेकाहीँ खोपको प्रयोगको शैली समुचित तरिकाबाट भएको छैन भने पनि खोपले काम नगरेको हुनसक्छ। अथवा खोप लगाएर पनि मानिसको शरिर रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बनाउन नसकेको हुन सक्छ।’ अस्पतालमा भर्ना हुने मध्ये खोप नलगाएकाको संख्या धेरै भएको उनको अनुभव छ।

स्वास्थ्य मन्त्रालयको खोप शाखाका प्रमुख डा. सागर दाहालले अहिलेसम्म नेपालमा कोभिड खोपको असरको कारण मृत्यु भएको सरकारी रेकर्डमा नरहेको बताए। सरकारले त्यस्ता घटनाको निरीक्षण र विवरण राख्ने कमिटी गठन गरेको डा दाहाल बताउँछन्। नेपालमा खोप ऐन, २०७२ बमोजिम खोप लगाएपछि हुनसक्ने अनपेक्षित घटनाको तत्काल अनुसन्धान गर्न अनपेक्षित घटना अनुसन्धान समिति छ। त्यो समितिले जटिल अवस्थाको विवरण राख्ने र अनुसन्धान गर्ने गर्छ।