क्रिकेट

वेष्ट इण्डिजको लगातार हार, दक्षिण अफ्रीकाको पहिलो जित

By खबरहब

October 26, 2021

काठमाडौँ– वेष्ट इन्डिजले लगातार दोस्रो खेलमा हार बेहोर्दा दक्षिण अफ्रीकाले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ ।

मंगलबार दुबईमा भएको पहिलो खेलमा साबिक विजेता वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै दक्षिण अफ्रीकाले पहिलो जित निकालेको हो । यता, वेष्ट इण्डिजको भने लगातार दोस्रो हार हो ।

वेस्ट इन्डिजले दिएको १ सय ४४ रनको लक्ष्य दक्षिण अफ्रीकाले १८ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

दक्षिण अफ्रीकाको जितमा एडिन मार्क्रमले अविजित रहँदै सर्वाधिक ५१ रनको बनाए । यस्तै भान डेर डुसेनले अविजित ४३ रनको पाली खेले । यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो ।

वेस्ट इन्डिजका इभिन लेविसले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ्स खेले ।

किइरन पोलार्डले २६ रन जोड्दा लेन्डल सिमोन्सले १६ रन जोडे ।

यससँगै पहिलो जित निकालेको अफ्रीकाले दुई खेलबाट २ अंक जोड्दै समूह–१ बाट चौथो स्थानमा रहेको छ । यस्तै लगातार दोस्रो खेलमा पराजित वेष्ट इन्डिज पुछारमा रहेको छ । समूह–१ मा एक खेलबाट २ अंक बनाएको इंग्ल्याण्ड शीर्षस्थानमा छ ।