राजनीति

कायममुकायम प्रधानसेनापतिको जिम्मा शर्मालाई दिने सरकारको निर्णय

By खबरहब

July 27, 2021

काठमाडौँ– सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिमा मुकरर गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

मंगलबार भएको मन्त्रिपरिषद बैठकले यही साउन २६ गतेदेखि लागू हुने गरी शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापा उमेर हदका कारण यसै महिना सेवाबाट निवृत्त हुँदैछन् । थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् । अवकाशको एक महिना अघि विदा बस्ने परम्परा अनुसार थापाले २४ साउनबाट बिदा बस्ने तयारी गरेका छन् ।

कायममुकायमको जिम्मेवारी पाएका शर्मा हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए ।

यसैगरी बैठकले बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।