समाचार

बुद्ध एयरको अर्को विमानमा पनि समस्या, पोखराका लागि उडेको विमान काठमाडौँ फर्कियो

By खबरहब

September 27, 2021

काठमाडौँ– सोमबार बुद्ध एयरका दुईवटा विमानमा समस्या देखिएपछि गन्तव्यमा अवतरण गर्न नसकी काठमाडौँ फर्किएका छन् । बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडेको विमान विराटनगरमा अवतरण गर्न नसकेपछि काठमाडौँ फर्किएको थियो । काठमाडौँबाट पोखराका लागि उडेको अर्को विमानमा पनि समस्या देखिएपछि काठमाडौँ फर्किएको थियो ।

दुबै विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको त्रिभुवन विमानस्थलका प्रवक्ता रिञ्जे शेर्पाले जानकारी दिए । उनका अनुसार पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ कलसाइनको विमान काठमाडौँ फर्किएको हो । सो विमानको ककपिटमा धुवाँ देखिएको थियो ।

ककपिटमा धुँवा आएपछि चालकले विमानलाई काठमाडौँ डाइभर्ट गरेका थिए । काठमाडौंमा अवतरणपछि सो विमान पुनः यात्रु लिएर पोखरा उडेको प्रवक्ता शेर्पाले जानकारी दिए ।

सोमबारै बिहान विराटनगरका लागि उडेको बुद्ध एयरको विमानको ल्याण्डिङ गेयर नखुलेपछि विराटनगरमा अवतरण गर्न सकेको थिएन ।

आकाशमा १० फन्को मारेपछि सो विमान काठमाडौँ फर्केको थियो। काठमाडौँमा अवतरण गर्दा भने ल्याण्डिङ गेयर खुलेकाले विमान सहज अवतरण गरेको थियो । सो विमान अवतरण गरेको भिडियो बुद्ध एयरले सार्वजनिक गरेको छ ।

सो विमानका यात्रुहरु पुनः पनि विराटनगर उडेको विमानस्थलका प्रवक्ता शेर्पाले जानकारी दिए ।