देश/प्रदेश

अग्रिम टिकट बुक गर्न बस पार्कमा घुइँचो

By खबरहब

September 27, 2021

काठमाडौँ– दशैँमा घर जाने यात्रुलाई लक्षित गरेर यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुला गरेका छन् ।

काठमाडौँमा विभिन्न व्यापार, व्यवसाय, जागिर र अध्ययनका लागि बसेका मानिस चाडपर्व मनाउन घर जाने गरेकाले यसलाई सहज तथा व्यवस्थित बनाउन सोमबारबाट अग्रिम टिकट बुकिङ खुला गरिएको हो । गत वर्ष कोरोना संक्रमणका कारण अग्रिम टिकट बुकिङ खुला गरिएको थिएन । यस वर्ष भने समयमा नै अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।

यसका लागि नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा ११ टिकट बुकिङ काउण्टर थप गरेको छ । अग्रिम टिकट बुकिङ खुला भएसँगै सोमबार बिहानैदेखि सर्वसाधारणहरु बसको टिकट काट्न नयाँ बसपार्क पुगेका थिए । बसको टिकट नै नपाएको सर्वसाधारणहरुले गुनासो गरेका छन् । बिहानैदेखि लाइनमा बस्दा पनि बसेको टिकट सकिएको भन्दै फर्काइएको उनीहरुको गुनासो छ ।

नयाँ बसपार्कबाहेक चाबहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलङ्कीबाट समेत अग्रिम टिकट बुकिङ सुरुआत गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।