राजनीति

प्रतिनिधिसभामा एमालेको अवरोध जारी, नाराबाजीकै बीच राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाइयो

By खबरहब

September 27, 2021

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सोमबार पनि प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । सभामुख अग्नि सापकोटाले बैठकको कारबाही सुरु गरेपछि एमाले सांसदहरु आफ्नो स्थानबाट उठेर नाराबाजी गरे ।

एमाले सांसदहरुले नाराबाजी गरेपछि सभामुख सापकोटाले अदालतमा विचाराधीन विषयमा सदनमा छलफल गर्न नपाइने संवैधानिक व्यवस्था स्मरण गराएका थिए । तर, एमाले विभाजनमा सभामुखको भूमिका रहेको आरोप लगाउँदै आएका एमाले सांसदहरुले भने नाराबाजी गरिरहे ।

नाराबाजीकै बीचमा सभामुख सापकोटाले विनियोजन विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयको पत्र सुनाए । यस्तै संसद सचिवालयका सचिव गोपालनाथ योगीले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधयेक राष्ट्रिय सभाबाट पारित भएको आएको जानकारी गराए ।

सोमबारको कार्यसूची अनुसार बैठकले आफ्नो काम गरेसकेपछि करिव १० मिनेट चलेर बैठक सकियो । प्रतिनिधिसभाको अर्को बैठक यही असोज १४ गते बस्ने छ ।