राजनीति

पदाधिकारीको व्यवस्थापनमा ओली, सर्वसम्मतिमा नेतृत्व चयन गर्न कार्यकर्ताको दबाब

By खबरहब

November 27, 2021

सौराहा- एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ ।

सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए । ओलीले नेम्वाङलाई राष्ट्रपति बन्न प्रस्ताव गरेको चर्चा छ ।

शुक्रबार महाधिवेशन स्थलमा बसेको केन्द्रीय कमिटीले थपेको पदाधिकारीमा कुन व्यक्तिलाई कहाँ राख्ने भन्ने टुंगो ओलीले सफारी पार्कबाट लगाउने भएका छन् ।

ओली बसेको होटल सफारी पार्कमै अहिले पदाधिकारी बैठक बस्दै  छ । जसकारण बन्दसत्र अझै लम्बिने देखिएको छ ।

शनिबार बिहान १० बजे सेभन स्टारमा सुरू हुने भनिएको बन्दसत्र साढे ११ बजिसक्दा पनि सुरू भएको छैन । प्रतिनिधिहरू सबै ओलीलाई कुरिरहेका छन् ।

हिजो पनि ८ बजे केन्द्रीय कमिटी बोलाएर ओली राति ११ बजे पुगेका थिए ।

कार्यकर्ताको नाराबाजी

सौराहास्थित एमालेको १०औँ महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी भएको छ ।

बन्दसत्रस्थल बाहिर ‘केपी ओली, हाइहाई’, ‘सर्वसम्मत हुनै पर्छ’, ‘नेकपा एमाले, जिन्दावाद’ लगायतको नारा लगाइएको छ ।

वडा र पालिकास्तरमा नेतृत्व चयनमा सर्वसम्मति गरेको एमालेले केन्द्रीय नेतृत्वमा पनि सर्वसम्मतिबाटै चयन गर्नुपर्ने महाधिवेशनमा सहभागी केही प्रतिनिधिको धारणा छ ।

नेताहरूले धमाधम उम्मेदवारी घोषणा गरेकाले महाधिवेशनमा सहभागी हुन आएका कार्यकर्ताले नाराबाजी गरेका हुन् ।