करिब २ लाख अमेरिकी डलरसहित एकजना पक्राउ

By खबरहब

November 27, 2021

कास्की– पोखरामा विदेशी मुद्रासहित एकजना पक्राउ परेका छन् । पोखरा महानगरपालिका ३३ गगनगौंडाबाट १ लाख ९४ हजार २ सय अमेरिकी डलरसहित पोखरा महानगरपालिका ९ शिवालय चोक बस्ने मुस्ताङका ४२ वर्षीय छिरिङ डुन्डु गुरुङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

कास्कीमा विदेशी मुद्राको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, ईलाका प्रहरी कार्यालय हंशपुर र वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको संयुक्त टोलीले पोखरा महानगरपालिका ३३ स्थित काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको सवारी साधन जाँच गर्ने क्रममा गुरुङलाई उक्त अमेरिकी डलरसहित फेला पारी पक्राउ गरेको हो ।

उनी उपर अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।