फाइल फोटो

राजनीति

सुशासनका लागि सूचनाको हक जरुरी छ : सञ्चारमन्त्री कार्की

By खबरहब

December 27, 2021

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको दीगो शान्ति, सुशासन र विकासका लागि सूचनाको हक जरुरी भएको बताएका छन् ।

राष्ट्रिय सूचना आयोगले आज आयोजना गरेको ‘सूचनाको हकमा महिला सहभागिताः चुनौती र अवसर’ विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उनले आ–आफ्नो ठाउँबाट सूचनाको हक कार्यान्वयन गर्न आग्रहसमेत गरे ।

‘मुलुकलाई दीगो शान्ति, सुशासन र विकासका लागि चाहिएको छ’, मन्त्री कार्कीले भने, ‘त्यसका लागि आ–आफ्नो ठाउँबाट योगदान जरुरी छ, सूचनाको हक अधिकार पनि हो र अपरिहार्य छ ।’

उनले राज्य र नागरिकलाई सुसूचित गरेर बलियो बनाउन सूचनाको हक आवश्यक भएको र लोकतन्त्र आइसकेपछि महिलाका उत्थानको कार्यक्रम पनि अघि बढिरहेको बताए ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले सूचना हुने व्यक्ति सबैभन्दा बढी शक्तिशाली हुने भएकाले सूचनाको हकमा महिलाले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हकमा महिलाको सहभागिता वृद्धि गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरेको बताए ।