आफ्नै ‘गर्लफ्रेण्ड’ लाई ब्रिटिश लाहुरे बनेर ठगेपछि…

By खबरहब

September 28, 2021

काठमाडौँ– सामाजिक सञ्जालको प्रयोग अत्यिधिक भएसँगै यसको माध्यमबाट हुने अपराधका घटनामा पनि वृद्धि भएको छ । सामाजिक सञ्जालको दुरुपयोग गरे आफ्नै चिनजानका मानिसहरुलाई पनि ठग्ने घटना बढिरहेका बेला यस्तै प्रकृतिको एक ठगी घटनाको खुलासा भएको छ ।

भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौँ बुढानिलकण्ठ बस्ने ३१ वर्षीय केदार राई आफ्नै केटीसाथीलाई ठगेको आरोपमा पक्राउ परेका छन् । उनले उनले फेसबुकको फेक आईडी बनाएर आफ्नै केटी साथीसँग च्याटमार्फत ठग्ने योजना बनाएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

प्रहरीका अनुसार राईले केटी साथीलाई आफू बेलायतको लाहुरे भएको भन्दै बिहेको प्रस्ताव गरेका थिए । पीडितलाई विश्वास दिलाएपछि आमाको उपचारको बाहाना बनाएर उनले पीडितबाट नगद रु १,६०,५००, सुनको बेरुवा औठी, सुनको लकेट सहितको सिक्री लिएको उजुरी परेको छ ।

उनले फेसबुक म्यासेन्जरमा आमाको उपचार ग्राण्डी अस्पतालमा भइरहेको भन्दै पैसा मागेको र सो पैसा आफ्नो दाइलाई दिन भनेको पीडितले प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ । प्रहरीले यो प्रकरणमा अनुसन्धान भइरहेको जनाएको छ ।