राजनीति

सुर्खेत सभापतिमा देउवा समूहका पोखरेल निर्विरोध निर्वाचित

By खबरहब

November 28, 2021

सुर्खेत– नेपाली कांग्रेस सुर्खेतको सभापतिमा संस्थापन पक्षका खड्क पोखरेल निर्विरोध निर्वाचित भएका छन् । उनको एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् ।

क्षेत्रीय अधिवेशनमा पौडेल समूहका कसैले पनि महाधिवेशन प्रतिनिधिमा जित हात पार्न नसकेपछि देउवा पक्षका पोखरेलको एकल उम्मेदवारी परेको हो । सभापतिमा एकल उम्मेदवारी परे पनि अन्य पदहरुमा भने चुनाव हुने भएको छ ।

अन्य पदका लागि आइतबार मतदान हुँदैछ । संस्थापन पक्षबाट उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत, सचिवमा देवकुमार सुवेदी र बालदिप कँडेलले उम्मेदवारी दर्ता गराएका छन् । सहसचिवमा हरि विष्ट र प्रकाश डिसीको उम्मेदवारी परेको छ ।

यस्तै पौडेल पक्षले सभापति बाहेकका अन्य पदहरुका लागि उम्मेदवारी दिएको छ । पौडेल पक्षबाट उपसभापतिमा टेकबहादुर सिंह र शोभा शर्मा, सचिवमा अनन्त पौडेल र जनकबहादुर रावल तथा सहसचिवमा भीमबहादुर शाही र लोकबहादुर पन्तको उम्मेदवारी दर्ता भएको छ ।