राजनीति

निधि, सिंह र कोइरालाबीच छलफल : केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने सहमति

By खबरहब

June 29, 2021

काठमाडौँ– पार्टीको महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीचको छलफलले तीव्रता पाएको छ ।

मंगलबार सिंह निवास चाक्सीबारीमा तीन नेताबीच महाधिवशेन र सभापतिको उम्मेद्वारीका बिषयमा छलफल भएको हो । तोकिएको समयमा नै १४ औं महाधिवेशन सम्पन्न गराउने र क्रियाशील सदस्यताका साथै समायोजनाका विषयमा छलफल भएको नेता सिंहले बताए । उनले महाधिवेशनलाई लोकतान्त्रिक पद्धतिअनुसार अघि बढाउनका लागि प्रक्रिया पूरा गरेकालाई क्रियाशील सदस्यता दिनुपर्नेमा छलफल भएको बताए ।

अहिलेको अवस्थामा पार्टीलाई लोकतान्त्रिक पद्धतिअनुसार चलाउनका लागि शुक्रबार कोइराला निवासमा सबै केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने सहमति भएको उनको भनाइ छ । यसअघिको महाधिवेशनमा सभापतिको उम्मेद्वार भएकासँग पनि छलफल गर्ने उनले जानकारी दिए ।

सिंह, कोइराला र निधि तीनै जना आगामी महाधिवेशनमार्फत् सभापति बन्न आकांक्षी छन् । निधि वर्तमान सभापति शेरबहादुर देउवानिकट मानिन् छन् भने सिंह र कोइराला संस्थापन इतरमा छन् । यसअघि पनि तीन नेताबीच लगातार छलफल भइरहेको छ ।